
अत्तरिया – धनगढीमा रहेको चैतन्य पाठशालाले स्थापनका २५ वर्ष पार गरेको छ । सो अवसरमा पाठशालाले विशेष कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । फागुन २९ र ३० विविध कार्यक्रम गरी रजत जयन्ती मनाइने पाठशालाका अध्यक्ष गणेश जोशीले बताए । सो अवसरमा २९ गते बिहान गते वनदेवी मन्दिर परिसरबाट पाठशाला परिसरसम्म प्रभात फेरी गर्ने भएको छ भने फागुन ३० गते गुरही चोकबाट पाठशाला परिसरसम्म प्रभातफेरी गर्ने भएको छ ।
त्यस्तै सुदूरपश्चिम लोक सांस्कृतिक समाज,मगर समुदाय,थारु समुदाय, राना समुदायको झाँकी प्रस्तुत गरिने भएको छ । त्यस्तै अछामी सेवा समाजको होली, खप्तड छान्ना लोक संस्कृति संरक्षण समूहको भुवा प्रस्तुति,चैतन्य तेक्वान्डो दोजाङ्ग, चैतन्य स्पोर्ट एकेडेमी, चैतन्य लोकसेवा तयारी, चैतन्य पतञ्जली योग केन्द्र र चैतन्य रिसर्च एण्ड डिप्लोमेन्ट सेन्टरको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै विद्यार्थी लक्षित कार्यक्रम अन्तरगत विज्ञान प्रदर्शनी तथा स्टिम परियोजना प्रदर्शन, सृजनात्मक अभिव्यक्ति तथा चित्रकला प्रस्तुति, विद्यार्थीहरूका बहुआयामिक सांस्कृतिक तथा प्रतिभा प्रस्तुति राखिने भएको छ ।

प्रतिभा सम्मानका कार्यक्रमका साथै अभिभावक लक्षित कार्यक्रमहरू आदर्श अभिभावक सम्मान, अभिभावक शुभभाव मन्तव्य र अभिभावक रमाइलो खेल कार्यक्रम आयोजना गरिने छ । शिक्षक तथा कर्मचारी केन्द्रित कार्यक्रमहरू अन्तरगत आदर्श शिक्षक तथा कर्मचारी सम्मान,उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान, शिक्षक तथा कर्मचारी प्रस्तुतिहरू रहने जनाइएको छ ।
त्यस्तै सामाजिक सेवा तथा शैक्षिक सहयोग कार्यक्रमहरू अन्तरगत कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण, धनगढी आसपासका सामुदायिक विद्यालयहरूलाई कम्प्युटर हस्तान्तरण, सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूबाट एसईई परीक्षामा सहभागी १००० विद्यार्थीहरूलाई निःशुल्क ब्रिज कोर्स तथा बहुआयामिक क्षमता विकास कोर्स अध्ययन सम्बन्धि छात्रवृति, धनगढी आसपासका मानवसेवा लक्षित संस्थाहरूलाई सहयोग सामुदायिक विद्यालयहरूलाई भौतिक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम रहेको छ ।
त्यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अवस्थित सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ६००० विद्यार्थीहरूलाई उपयोगी पुस्तक वितरण, लोक सेवा तयारी कक्षाहरूमा जेहेन्दार तथा आर्थिक रूपमा विपन्न युवाहरूलाई अवसर प्रदान, पूर्व सञ्चालक, पूर्व शिक्षक कर्मचारी, पूर्व विद्यार्थी, पूर्व पिटिए अध्यक्ष र व्यवस्थापन समिति सदस्यहरूलाई सम्मान र वर्तमान पिटिए पदाधिकारी तथा व्यवस्थापन समिति सदस्यहरूलाई सम्मानको कार्यक्रम आयोजना गरिएको जोशीले बताएका छन् । चैतन्य पाठशालाले आगामी दिनहरूमा पनि शिक्षा, संस्कार, सामाजिक सेवा तथा शैक्षिक जागरणको यात्रालाई अझ प्रभावकारी तथा व्यापकरूपमा अघि बढाउने प्रतिबद्धता पाठशालाले गरेको छ ।
















