
कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सौतेनी आमा र बहिनीमाथि खुकुरी प्रहार गरी एक जनाको हत्या र अर्की एक जनालाई गम्भीर घाइते बनाउने मुख्य आरोपीलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ वडा नम्बर ४ सुर्खेती टोलका करिब ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै सौतेनी आमा ७५ वर्षीया बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन्। साथै ५० वर्षीया भगवतीदेवी माझीलाई गम्भीर घाइते बनाएका थिए।

घटनापछि फरार रहेका श्रेष्ठलाई खोज्ने क्रममा नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको समन्वयमा भारतको बरेलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए। पक्राउपछि उनलाई कानुनी प्रक्रिया अनुसार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
घाइते भगवतीदेवी माझीलाई सुरुमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार गरिएको थियो। तर अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार पुरानो जग्गा–जमिन विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















