चुनाव हराउन कांग्रेसकै ‘५७ नेता पैसामा बिकेको’ आरोप शाहलाई भारी, आलेको कडा चुनौती

Image
maya metro

धनगढी – कैलाली क्षेत्र नं.५ को निर्वाचन परिणामपछि नेपाली कांग्रेसभित्रै गम्भीर विवाद उत्पन्न भएको छ। कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले आफूलाई हराउन पार्टीकै ५७ जना नेता–कार्यकर्ताले पैसा लिएको आरोप लगाएपछि विषय थप चर्किएको हो।

धनगढीस्थित समर्पण मिडियासँग कुरा गर्दै शाहले नेकपाका उम्मेदवार प्रेमबहादुर आलेबाट कांग्रेसकै केही जिम्मेवार व्यक्तिले रकम लिएको दाबी गरे। उनका अनुसार उक्त सूची आफूलाई दिइएको भए पनि प्रमाण अभावका कारण सार्वजनिक गर्न नसकिएको बताएका छन्।

nisarga

२१ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा शाह पराजित भएका थिए भने आले तेस्रो स्थानमा रहेका थिए। शाहको दाबीअनुसार पैसा लिनेहरूमा पार्टीभित्र जिम्मेवार पदमा रहेका व्यक्तिहरू समेत छन्।

यो अभिव्यक्तिपछि नेपाली कांग्रेस कैलालीले चासो देखाउँदै शाहसँग स्पष्टिकरण मागेको छ। जिल्ला सभापति नारायणदत्त भट्टले विज्ञप्ति जारी गर्दै आरोप गम्भीर भएको भन्दै सत्य–तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्। आवश्यक परे छानबिन गरी दोषीमाथि कारबाही गरिने पनि जनाइएको छ।

उता नेकपाका उम्मेदवार प्रेमबहादुर आलेले भने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले गलत र भ्रामक कुरा फैलाइएको दाबी गर्दै प्रमाणसहित नाम सार्वजनिक गर्न शाहलाई चुनौती दिएका छन्।

आलेले भने, “मैले कसैलाई पैसा दिएको छैन। यदि यस्तो कुनै सूची छ भने तुरुन्त सार्वजनिक गर्नुपर्छ, नत्र म कानुनी उपचारमा जान्छु।” उनले आफूले कांग्रेसका कार्यकर्ता समेत नचिनेको जिकिर गरेका छन्।

शाहले भने हाल प्रमाण जुटाउने प्रयास भइरहेको उल्लेख गर्दै नाम सार्वजनिक गर्नेबारे पछि निर्णय गर्ने संकेत दिएका छन्।

यो घटनाले सुदूरपश्चिम कांग्रेसभित्र आन्तरिक विवाद र अविश्वास झनै बढाएको देखिन्छ।