
कैलाली – भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ ।
नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रीपरिषद् बैठकले कैलालीको गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो ।

करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यो संरचनामा नेपाल सरकारको छ अर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको र ४२ वटा भवन ठडिएको पनि धेरै समय बितिसकेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्द उक्त विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने विश्वास व्यक्त गर्छन् ।
उनी भन्छन्, “विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको सुनिश्चित भइसकेको छ । यो विश्वविद्यालय सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो अवसरको ढोका खुल्ने छ ।” शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विगत दुई वर्षदेखि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको छ ।
प्रतिनिधि सभा सदस्य चन्द नयाँ सरकारले गेटामा शैक्षिक कार्यक्रम सुरु गर्न र अस्पतालको सेवालाई विस्तार गर्न कानुनी र व्यावहारिक बाटो खोल्ने बताउँछन् । उनका अनुसार सुरुको चरणमा ५० जना विद्यार्थीलाई एमबिबिएस वा चिकित्सा शिक्षा पढाउने योजना रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले यो विश्वविद्यालय सञ्चालनमा चासो दिएकाले बजेटको व्यवस्था भएको उनको भनाइ छ ।
सुदूरपश्चिमका सांसदहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा यो विश्वविद्यालय सञ्चालनका लागि रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेको कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य खेमराज कोइरालाले बताए ।
उनले विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन दुई अर्ब ५८ करोड रुपियाँ बजेट सुनिश्चित भएको र प्रधानमन्त्री शाहले विश्वविद्यालयको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
यसअघि सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई यस विश्वविद्यालयसँग आबद्ध गर्ने विषयमा प्रदेश सरकारले स्वीकृति दिइसकेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले नयाँ शैक्षिक सत्रबाट चार वटा सङ्कायमा पठनपाठन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । उनले सरकारले विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेको र आवश्यक बजेट व्यवस्थापनमा सकारात्मक रहेको बताए ।
विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने आशा व्यक्त गरे । विश्वविद्यालय सभाको पहिलो बैठक आगामी २५ गते बिहान ९ बजेदेखि विश्वविद्यालयपरिसरमै आयोजना हुने भएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले जानकारी दिए ।
यसअघि विश्वविद्यालय सभाको तीन वटा बैठक सङ्घीय राजधानी काठमाडौँ भएकोमा पहिलो पटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बोलाइएको हो ।
जोशीका अनुसार बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीका विषयमा छलफल हुने छ ।















