
कैलाली – ८ महिना पहिले अमेरिका गएका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश देउवाले सभामुख भीम भण्डारीलाई पत्र पठाएका छन् । उनले अझै केही समय बैठकका उपस्थित हुन नसक्ने जनाएका छन् ।
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाका भतिजा प्रकाश कैलाली क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका उनी जेन-जी आन्दोलनपश्चात अमेरिका गएका थिए ।

भदौ २८ गते आफू अमेरिका आएको बताउँदै उनले सदनमा स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताएका उल्लेख गरेका छ्न् ।
‘२०८२ भाद्र २८ गते मेरो व्यक्तिगत कामको सिलसिलामा अमेरिका आएको तर केही समयपछि देखा परेको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाह अनुसार उपचार तथा विश्राममा रहनुपरेको हुँदा सो अवधिमा सञ्चालन भएका प्रदेश सभाका बैठकहरूमा उपस्थित हुन असमर्थ भएको ब्यहोरा सादर अवगत गराउँदछु ’ उनले सभामुखलाई सम्बोधन गरेर पठाएको पत्रमा भनिएको छ ‘सोही कारणले आगामी मिति २०८२ चैत्र २४ मा बस्ने प्रदेश सभाको बैठकमा समेत उपस्थित हुन नसक्ने अवस्था रहेको जानकारी गराउन चाहन्छु। ’
सभामुखलाई जानकारी नगराएर लगातार १० बैठकमा उपस्थित नभए संविधानमा पद जान सक्ने व्यवस्था उल्लेख गरिएको छ । प्रदेशसभा सचिवालयले पनि उनी सम्पर्कमा नरहेको भन्दै सेवा सुविधा रोकेको छ । लगातार आधा दर्जन बैठकका अनुपस्थित भएपछि देउवाले अमेरिकाबाटै सभामुखलाई पत्र पठाएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले सभामुखलाई सम्बोधन गरी पठाइएको पत्र प्राप्त भएको बताए















