स्थानीय सेवा संशोधन विधेयक सर्वसम्मतले पारित

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बसेको बैठकबाट सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ ।

स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्तका सम्बन्धमा कानुनी व्यवस्था गर्ने उद्देश्यले प्रदेश सरकारले गत असार १५ गते स्थानीय सेवा जारी गरेको थियो । यो ऐनले प्रदेशभित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवालाई प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने सरकारको अपेक्षा छ ।

nisarga

तह मिलान कर्मचारीको ज्येष्ठतासम्बन्धी प्रावधान, सङ्गठन संरचना तथा दरबन्दी स्वीकृतिसम्बन्धी प्रावधान, बिदालगायतका सर्त सुविधाका सम्बन्धमा गरिएका व्यवस्था थप स्पष्ट पार्न कानुनमा संशोधन गर्नुपर्ने भएपछि सरकारले सभामा संशोधन विधेयक पेस गरेको थियो । प्रदेश मामिला तथा विधायन समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनमा छलफल गरी पारित गरिएको हो । विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य विक्रमसिंह धामी, नेपाली कम्युनिस्ट पार्टीका नरेशबहादुर शाहीले भाग लिएका थिए ।

यसै गरी बैठकमा सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीको प्रस्तावमा विधेयकको सैद्धान्तिक पक्षमाथि सामान्य छलफल गरिएको हो ।

छलफलमा भाग लिदै प्रदेश सभा सदस्य ललिता सुनारले विधेयकले स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने बताइन् । उनले अनुगमन, नियमन निकायलाई पर्याप्त जनशक्ति र स्रोत व्यवस्थापन हुनुपर्ने भन्दै थपे, “स्वास्थ्य संस्थामा समन्वय, गुणस्तर र सन्तुलन कायम हुनु पर्छ ।” त्यस्तै प्रदेश सभा सदस्य ओमविक्रम भाटले प्रदेशको विकट क्षेत्रमा सामान्य अस्पताल र उपचार नहुँदा धेरै मान्छेले अकालमै ज्यान गुमाउनु परिरहेको बताउँदै स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण गर्न जरुरी रहेको औँल्याए । स्वास्थ्य महत्वपूर्ण क्षेत्र रहेको भन्दै उनले स्वास्थ्य संस्थालाई आधुनिक बनाउनुपर्नेमा सरकारले निजी क्षेत्रलाई पोस्ने गरी विधेयकमा राखेको जिकिर गरे ।

नेकपा (एमाले) का प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले स्वास्थ्य जनताको जीवन र भविष्यसँग जोडिएको गहन विषय रहेकाले यसलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । जनस्वास्थ्य नागरिकको अधिकारसँग जोडिएको उनको भनाइ थियो । “यसलाई जनमुखी बनाउनु पर्छ,” शर्माले भने, “प्रदेशको दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य समस्यालाई विधेयकमा समेट्न आग्रह गर्छु ।” छलफलमा उठेको विषयमा जवाफ दिदै मन्त्री सार्कीले प्राप्त सुझावलाई सरकारले सम्बोधन गर्ने बताए ।