
अत्तरिया – नेपाली चलचित्र ‘जदौ’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा प्रभात पाल ठकुरी र नीति शाह लाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । फिल्म आगामी भदौ १२ गते देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
जदौ प्रभात पाल ठकुरीको मुख्य भूमिका रहेको दोस्रो फिल्म हो । यसअघि उनले ‘मुग्लान’ जस्ता चलचित्रमा प्रभावशाली अभिनय प्रस्तुत गरिसकेका छन् । साथै ‘डिसेम्बर फल्स’ र ‘बसन्त’ लगायतका नेपाली चलचित्रमा पनि उनको अभिनयले दर्शकको मन जितिसकेको छ । निरन्तर मेहनत र उत्कृष्ट प्रस्तुतिका कारण उनी पछिल्लो समय नेपाली फिल्म उद्योगका उदीयमान तथा प्रतिभाशाली अभिनेताका रूपमा चिनिँदै आएका छन् ।

उनले विभिन्न चर्चित म्युजिक भिडियोहरूमा समेत अभिनय गरेर आफ्नो बहुमुखी क्षमता देखाइसकेका छन् । यस फिल्मलाई निर्देशकद्वय अञ्जन शर्मा र काजी लिम्बू ले संयुक्त रूपमा निर्देशन गरेका छन् । फिल्ममा प्रभात पाल ठकुरी र नीति शाहसँगै रिचा शर्मा र मुकुन भुसाल लगायतका कलाकारहरूको समेत सशक्त अभिनय रहनेछ ।
पोस्टर सार्वजनिक भएसँगै ‘जदौ’ प्रति दर्शकको उत्साह बढेको छ । नयाँ कथा, दमदार प्रस्तुति र सक्षम कलाकारहरूको संयोजनले यो फिल्म नेपाली सिनेमा क्षेत्रमा महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ ।


















