कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ

Image
maya metro

महेन्द्रनगर – गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

गत वर्ष वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा लागुऔषधसम्बन्धी कसुरमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए ।

nisarga

उनका अनुसार, सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाँजालगायत विभिन्न लागुऔषध बरामद गरेको छ ।

“गएको वर्ष लागुऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो,” प्रहरी उपरीक्षक खत्रीले भने, “हामीले कारबाही र सचेतनाका लागि अभियान सञ्चालन गरेका छौँ ।” उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए ।

“टोल विकास समिति तहसम्म स्थानीय चनाखो हुनुपर्ने बेला आइसक्यो,” उनले भने, “लागुऔषध सेवन र दुर्व्यसन विषयमा प्रहरीलाई समयमा सूचना आदानप्रदान आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार, ०८२ वैशाखमा यहाँ २२ जना लागुऔषधिसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी जेठमा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मंसिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैतमा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुला सीमानाकाका कारण भारतबाट लुकीछिपी लागुऔषध आयात हुने गरेको छ । पछिल्लो समय नेपाल–भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।

खत्रीले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी रहेका बताए ।

रासस