
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा वैशाख १७ गते (भोलि)देखि लाग्ने पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।
वैशाख १७ गतेदेखि २३ गतेसम्म पर्यटन महोत्सव (पर्यटन मेला) लाग्ने आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समिति तथा बजार व्यवस्थापन समितिले महोत्सव आयोजना गर्दै छ ।

महोत्सवको भोलि बिहान ११ बजे गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । उद्धघाटनअघि बुढीतोला बजारमा प्रभातफेरी गरिने बताइएको छ ।
महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिका संयोजक हरि भट्टराईले जानकारी दिए।
पर्यटकिय गतिविधि गरिने उक्त महोत्सवमा विद्यार्थीलाई ५० र अरुलाई प्रतिव्यक्ति १०० रुपैँया टिकट लाग्ने महोत्सवमा करिब ६० वटा स्टल रहने भट्टराईले बताएका छन् ।
आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राखेको उनले बताए । “हामीले आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छौं,” भट्टराईले भने ।
महोत्सवमा बुढीतोलाको मौलिकता झल्काउने विभिन्न सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन, तथा घरेलु उत्पादनका स्टलहरू रहनेछन्। साथै, स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति पनि आकर्षणको केन्द्र बन्ने बताइएको छ ।
बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिका सल्लाहकार समितिका सदस्य अशोक मल्लले यस मेलाले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा टेवा पु¥याउने विश्वास रहेको बताए ।
उनले पुतली बगैचा, स्ट्याचुहरु, भित्तेलेखनहरु आाफूहरुले तयार गरेको र उज्यालो बुढीतोला अभियानमा आफूहरु रहेको उनले बताए । कम्पासे डाँडा शहस्त्र धारा लगायतका ठाउँहरुमा बुढीतोलाबाट हाइकिङ जान सकिन्छ ।
महोत्सव अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, खानाका परिकार, तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीयवासी तथा पर्यटकलाई लक्षित गर्दै आयोजना गरिएको यस “पर्यटन मेला”ले बुढीतोलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको अत्तरिया चौराहबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको बुढीतोला प्राकृतिक दुष्टिकोणले सुन्दर मानिन्छ । सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने बुढीतोलामा कैलाली, कञ्चनपुरलगायतका ठाउँहरुबाट मानिसहरु गर्मी छल्न जाने गर्दछन् ।















