
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न गोष्ठीमा डेङ्गु, मलेरिया, औलो लगायत किटजन्य रोगबाट बच्ने उपाय, सरसफाइ तथा जनचेतनाबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरू तथा विभिन्न थारु गाउँका भलमन्साहरुको सहभागिता रहेको थियो। स्वास्थ्य शाखाका अहेब विर बहादुर कुँवरले गोष्ठीमा सहभागीहरुलाई प्रशिक्षण गरेका थिए ।
वर्षायामसँगै किटजन्य रोगको जोखिम बढ्ने भएकाले घर वरपर पानी जम्न नदिने, वातावरण सफा राख्ने तथा आवश्यक सावधानी अपनाउन उनले सबैलाई आग्रह गरे ।
चालु आर्थिक वर्षमा गोदावरीका ३० जनाभन्दा बढी व्यक्तिहरुमा औलो रोग देखा परेको उनले बताएका छन् । कुँवरले किटजन्य रोग नियन्त्रण गर्न समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।
गोष्ठीमा आफ्नो भनाई राख्दै वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थीले बाक्लो बस्ती भएको क्षेत्रतिर समुदायस्तरमै गएर किटजन्य रोग नियन्त्रणबारे सचेतना फैलाउनु पर्ने बताएका छन् ।















