बुडर डोटीमा वित्तीय साक्षरता तथा उद्यम विकास कार्यक्रम सम्पन्न

Image
maya metro

कैलाली – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुडर डोटीको आयोजनामा वित्तीय साक्षरता, केन्द्र प्रमुख अन्तरक्रिया तथा उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै जोरायल गाउँपालिका–२ का वडाध्यक्ष बिर बहादुर दर्लामीले आर्थिक गतिविधि तथा विकास निर्माणमा वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका रहने बताए।

nisarga

विकासका हरेक क्षेत्रमा आर्थिक स्रोत आवश्यक पर्ने भएकाले स्थानीय तहमा यस्ता संस्थाहरूको उपस्थिति अनिवार्य रहेको उनको भनाइ थियो।

उनले लघुवित्त संस्थाबाट लिइने ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी सही सदुपयोग गर्न सके नागरिकहरू आर्थिक रूपमा सबल बन्न सक्ने उल्लेख गरे।

नागरिकहरू आर्थिक रूपमा सक्षम भए मात्र स्थानीय सरकार पनि बलियो, सक्षम र समृद्ध बन्न सक्ने उनले जोड दिए।
कार्यक्रममा अनुगमन कार्यालय स्याउले, डडेल्धुराका अनुगमन प्रमुख सहदेव विश्वकर्मा र प्राविधिक प्रेम बुढाले वित्तीय साक्षरता, बचतको महत्व, ऋणको उचित व्यवस्थापन, उद्यमशीलता विकास तथा आयआर्जन वृद्धिका सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए।

उनिहरुरूले लघुवित्तबाट प्राप्त ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरित गरे।

त्यसैगरी, कार्यक्रममा केन्द्र प्रमुख तथा सदस्यहरूबीच संस्थाका सेवा–सुविधा, ऋणको प्रभावकारी उपयोग, बचत संस्कृतिको विकास र उद्यम विस्तारका विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले आफ्नो आर्थिक अवस्था सुधार गर्न तथा उद्यमशील बन्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

मातृभूमि लघुवित्तले समुदायस्तरमा वित्तीय पहुँच विस्तार, आर्थिक चेतना अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा केन्द्र प्रमुख, सदस्य तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।