धनगढी उपमहानगरपालिकाद्वारा २ हजार महिलाको पाठेघर परीक्षण, २३३ मा एचपिभी संक्रमण

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको प्रजनन् स्वास्थ्यसम्बन्धी विशेष स्क्रिनिङ कार्यक्रमअन्तर्गत २ हजार ३२१ महिलाको पाठेघरको मुखको क्यान्सर (एचपिभी डिएनए) परीक्षण गरिएको छ। परीक्षणका क्रममा २३३ जनामा एचपिभी संक्रमण (पोजेटिभ) देखिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार २०८२ चैत २५ गतेदेखि २०८३ जेठ १० गतेसम्म नगरका २० वटा स्थानमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत पाठेघरको मुखको क्यान्सर, आङ खस्ने, फिस्टुला तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो।

nisarga

तथ्याङ्कअनुसार एचपिभी डिएनए परीक्षण गरिएकामध्ये करिब १० प्रतिशत महिलामा संक्रमण पुष्टि भएको छ। उमेर समूहअनुसार हेर्दा ३० देखि ४४ वर्ष उमेर समूहका महिलामा संक्रमणको दर बढी देखिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। यस समूहमा २२३ जना पोजेटिभ भेटिएका छन् भने ४० वर्षभन्दा माथिका उमेर समूहमा १० जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, शिविरमा आङ खस्ने समस्याको परीक्षण गरिएकामध्ये ४० जनामा समस्या पहिचान भएको थियो। तीमध्ये १० जनालाई रिङ पेसरी प्रयोग गरी उपचार गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शिविरअन्तर्गत २ हजार २०८ महिलाको स्तन क्यान्सर तथा फिस्टुला सम्बन्धी परीक्षण पनि गरिएको थियो। परीक्षणमा सहभागी सबै महिलाको नतिजा सामान्य रहेको जनाइएको छ।

उपमहानगरपालिकाले एचपिभी पोजेटिभ नतिजा आउनु भनेको पाठेघरको मुखको क्यान्सर भइसकेको भन्ने अर्थ नलाग्ने स्पष्ट पारेको छ। एचपिभी संक्रमण क्यान्सरको जोखिमसँग सम्बन्धित संकेत भए पनि समयमै थप परीक्षण, परामर्श र आवश्यक उपचारबाट जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

उपमहानगरपालिकाले महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षणमा सहभागी हुन र प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे सचेत रहन आग्रह गरेको छ।
Compose