
काठमाडौं – जब मानिस मस्तिष्क ट्युमर भन्ने शब्द सुन्छन्, धेरैजसो अवस्थामा तथ्य बुझ्नुअघि नै उनीहरूमा डर पैदा हुन्छ । चलचित्रका दृश्य, सामाजिक सञ्जालमा फैलिएका डरलाग्दा सामग्री र पुराना धारणाका कारण वास्तविकताभन्दा बढी भयावह चित्र मानिसको मनमा बन्ने गर्छ ।
वास्तविकता के हो भने मस्तिष्क ट्युमर जटिल स्वास्थ्य समस्या हो । केही ट्युमर बिस्तारै बढ्छन् । केही आक्रामक प्रकृतिका हुन्छन् । चिकित्सा विज्ञानमा उल्लेखनीय प्रगति भए पनि योसँग सम्बन्धित धेरै भ्रम अझै समाजमा व्याप्त छन् ।

कतिपय अवस्थामा रोगले भन्दा बढी नोक्सान त्यसका बारेमा फैलिएको गलत सूचना र डरले पुर्याउने एस्टर इन्टरनेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्सेज एन्ड स्पाइन केयरका ग्रुप डाइरेक्टर प्रोफेसर डा. सतीश रुद्रप्पा बताउँछन् ।
के हरेक मस्तिष्क ट्युमर क्यान्सर नै हुन्छ ?
धेरै मस्तिष्क ट्युमर बेनाइन (गैरक्यान्सरयुक्त) हुन्छन्, ती शरीरका अरू भागमा फैलने खालका हुँदैनन् । तर, खप्परभित्र सीमित स्थानमा रहने भएकाले गैरक्यान्सरयुक्त ट्युमरले पनि मस्तिष्कका महत्त्वपूर्ण भागमा दबाब सिर्जना गर्न सक्छ ।
यसका कारण बोली, हिँड्डुल, स्मरणशक्ति, दृष्टि वा शरीरको सन्तुलनमा समस्या देखिन सक्छ । त्यसैले यस्ता ट्युमरमा पनि उपचार आवश्यक हुनसक्छ ।
के टाउको दुख्नु नै सधैँ पहिलो लक्षण हो ?
मस्तिष्क ट्युमर भएका सबै व्यक्तिमा सुरुमा टाउको दुख्ने समस्या देखिँदैन । लक्षण व्यक्तिअनुसार फरक हुनसक्छ ।
कतिपय बिरामीमा टाउको दुख्नुभन्दा अघि नै मूर्च्छा पर्ने, छारेरोगजस्तो हुने, दृष्टि धमिलो, बोल्न कठिनाइ, हातखुट्टा कमजोर, व्यवहार वा व्यक्तित्वमा परिवर्तन आउने तथा शरीरको सन्तुलन बिग्रनेजस्ता लक्षण देखिन सक्छ ।
के मस्तिष्क ट्युमर वृद्धवृद्धालाई मात्र हुन्छ ?
होइन । उमेर बढ्दै जाँदा केही प्रकारका ट्युमरको जोखिम बढ्न सक्छ । मस्तिष्क ट्युमर बालबालिका, युवा र मध्यम उमेरका व्यक्तिहरूमा पनि हुनसक्छ ।
वास्तवमा बालबालिकामा देखिनेमध्ये मस्तिष्क ट्युमर प्रमुख प्रकारमा एक हो । त्यसैले उमेर कम छ भन्दैमा लामो समयदेखि देखिएका स्नायुसम्बन्धी लक्षणलाई बेवास्ता गर्नु हुँदैन ।
के मोबाइल फोनको प्रयोगले सिधै मस्तिष्क ट्युमर गराउँछ ?
हालसम्मका ठूला वैज्ञानिक अध्ययनले नियमित मोबाइल फोनको प्रयोग र मस्तिष्क ट्युमरको जोखिमबीच स्पष्ट सम्बन्ध देखाएको छैन । त्यसैले मोबाइल प्रयोग नै मस्तिष्क ट्युमरको प्रत्यक्ष कारण हो भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि गरेको छैन ।
मस्तिष्क ट्युमरको निदान हुनु भनेको जीवन सकिनु हो ?
यो सबैभन्दा हानिकारक भ्रममध्ये एक हो । वर्तमान आधुनिक न्युरोसर्जरी, उन्नत इमेजिङ प्रविधि, लक्षित विकिरण उपचार तथा आणविक परीक्षणका कारण धेरै प्रकारका ट्युमरको प्रभावकारी व्यवस्थापन सम्भव भएको छ ।
उपचारपछि धेरै बिरामी आफ्नो काम, शिक्षा, परिवार र व्यक्तिगत जीवनमा सामान्य रूपमा फर्कन सफल भएका छन् ।
मस्तिष्क ट्युमरबाट कसरी बच्न सकिन्छ ?
मुटु वा अरू केही रोगजस्तै मस्तिष्क ट्युमरलाई शतप्रतिशत रोक्ने निश्चित उपाय हालसम्म पत्ता लागेको छैन । धेरैजसो अवस्थामा यसको ठ्याक्कै कारण पनि स्पष्ट हुँदैन ।
यद्यपि, विशेषज्ञले अनावश्यक आयनाइजिङ विकिरणबाट जोगिन, विकिरणसँग सम्बन्धित काम गर्दा आवश्यक सुरक्षा अपनाउन, नियमित व्यायाम गर्न, सन्तुलित आहार लिन, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न र समग्र स्वास्थ्य राम्रो राख्न सुझाव दिने गरेका छन् ।
साथै, लामो समयसम्म कुनै स्नायुसम्बन्धी समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । परिवारमा मस्तिष्क ट्युमरसँग सम्बन्धित आनुवंशिक रोगको इतिहास भएमा नियमित स्वास्थ्य परीक्षण गर्नु पनि उपयोगी हुनसक्छ ।
लगातार देखिने स्नायुसम्बन्धी लक्षणलाई बेवास्ता गर्न नहुने न्युरोसर्जन डा. सतिश रुद्रप्पा बताउँछन् ।
भ्रम र डरका कारण चिकित्सककहाँ जान ढिलाइ गर्नुको सट्टा समयमै जाँच, सही उपचार र विश्वसनीय जानकारी नै मस्तिष्क ट्युमरविरुद्धको लडाइँमा सबैभन्दा महत्त्वपूर्ण हतियार हुन् ।
















