दशकौँदेखि आफ्नै ठानेर भोगचलन गरेको जग्गा नक्सामा अर्कै ठाउँमा, कारोबारमा सकस

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ स्थित गैर नदी बस्तीका स्थानीयले करिब पाँच दशकदेखि भोगचलन गर्दै आएको जग्गा सरकारी नक्सामा भने अर्कै स्थानमा देखिएपछि जग्गा कारोबारमा समस्या भोग्दै आएका छन् ।

यो बस्तीमा करिब एक सय भन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । बस्ती क्षेत्रमा रहेको करिब २४ बिघा जग्गा स्थानीयले लामो समयदेखि घर निर्माण तथा अन्य प्रयोजनमा भोगचलन गर्दै आएका छन् ।

nisarga

तर आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा र सरकारी नक्सामा देखिएको जग्गाको अवस्थिति फरक पर्दा उनीहरुले वर्षौदेखि समस्या झेल्दै आएका हुन् ।

स्थानीयका अनुसार पुस्तौँदेखि जसरी जग्गा भोगचलन गर्दै आएका थिए, त्यसैलाई आफ्नो जग्गा मानेर उनीहरू बस्दै आएका थिए । नक्सामा जग्गा अर्कै स्थानमा परेको विषयबारे आफूहरूलाई केहि समय अगाडि मात्रै जानकारी भएको उनीहरूको भनाइ छ ।

आफूहरूको वास्तविक भोगचलन एकातिर र नक्सामा जग्गा अर्कैतिर देखिएपछि अहिले जग्गाको स्वामित्व तथा कारोबारसँग सम्बन्धित काममा समस्या देखिएको स्थानीय पुष्कर सिंहले बताए।

‘पहिले पहिले बैंकिङ, बेचबिखन लगायत जग्गाको कारोबार त्यति हुँदैन थ्यो जब हामीहरुले यि कारोबारहरु सुरु गर्न खोजेउँ तबमात्रै नक्सा एकातिर भोगचलन अर्कैतिर रहेको थाहा भयो ।,सिंहले भने ।’

उनका अनुसार नक्सा र वास्तविक भोगचलन नमिलेका कारण जग्गा बैंकमा धितो राखेर कारोबार गर्न, बेचबिखन गर्न तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भइरहेको छ ।

‘हामीले वर्षौँदेखि यही जग्गा भोगचलन गर्दै आएका छौँ । तर नक्सामा जग्गा अर्कैतिर देखिन्छ । त्यसकै कारण बैंकिङदेखि जग्गा कारोबारसम्म समस्या भइरहेको छ,’ सिंहले भने ।

समस्या समाधानका लागि आफूहरू पटक–पटक नापी कार्यालय तथा सम्बन्धित निकायमा पुगे पनि अहिलेसम्म ठोस समाधान नभएको उनको गुनासो छ ।

उनीहरूले स्थलगत रूपमा जग्गाको अवस्था अध्ययन गरी वास्तविक भोगचलन र नक्साबीचको फरक पहिचान गर्न तथा आवश्यक प्रक्रिया पूरा गरेर नक्सा सच्याइदिन माग गरेका छन् ।

स्थानीय मेखनाथ फुलाराले पनि आफूहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गा नक्सामा समेत सोहीअनुसार कायम गरिनुपर्ने बताए ।

‘हामीले जुन ठाउँमा वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका छौँ, नक्सामा पनि त्यहीअनुसार मिलाइदिनुपर्छ । नक्सा र जमिन नमिलेका कारण आफ्नै जग्गा भएर पनि कारोबार गर्न समस्या भइरहेको छ,’ फुलाराले भने ।

नक्सामा जग्गाको अवस्थिति फरक देखिँदा आफ्नै भोगचलनको जग्गा सहज रूपमा प्रयोग तथा कारोबार गर्न नपाउने अवस्था आएको उनको भनाइ छ । नापी कार्यालय धनगढीका प्रमुख केशव लेखकले स्थलगत अध्ययनपछि मात्रै थप भन्न मिल्ने बताएका छन् ।