
काठमाडौँ – गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन, सेवा प्रवाह तथा कानुनी दायित्व पूरा गर्न कठिनाइ उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक कार्यालयको ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले साेमबार महालेखा नियन्त्रकलाई पठाएको पत्रमा आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा सूत्र प्रणाली अत्यन्तै सुस्त सञ्चालन हुँदा भुक्तानी प्रक्रिया प्रभावित भएको, स्थानीय तहले समयमै वित्तीय दायित्व पूरा गर्न नसकेको तथा अन्तिम समयमा अस्वाभाविक भुक्तानी चाप सिर्जना भएको उल्लेख गरेको छ।

महासंघले संघ तथा प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण हुने बजेट अन्तिम समयमा निकासा हुँदा उपलब्ध समय अभावका कारण बजेट खर्च गर्न कठिन भएको, कतिपय रकम फिर्ता जान सक्ने तथा आगामी आर्थिक वर्षमा थप वित्तीय दायित्व सिर्जना हुने जोखिम रहेको जनाएको छ। यसलाई रोक्न स्थानीय तहमा हस्तान्तरण हुने सबै प्रकारका बजेट कम्तीमा असार १० गतेभित्र निकासा हुने व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।
त्यसैगरी, प्रणालीगत अवरोधका कारण भौचर प्रविष्टि र भुक्तानी प्रक्रिया सुरु भइसके पनि धेरै कारोबारको इएफटी सम्पन्न हुन नसकेको उल्लेख गर्दै त्यस्ता सबै कारोबार पहिचान गरी विशेष व्यवस्थामार्फत तत्काल भुक्तानी सम्पन्न गराउन महासंघले माग गरेको छ।
स्थानीय सरकारको कुनै कमजोरी वा लापरबाही नभई प्रणालीगत समस्याका कारण कानुनी दायित्व प्रभावित भएको भन्दै यसको प्रत्यक्ष असर सेवा प्रवाह, वित्तीय अनुशासन र स्थानीय सरकारप्रतिको जनविश्वासमा परेको बताएका छन्।
महासंघले संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा स्थानीय सरकारको नियमित सेवा प्रवाह सुनिश्चित गर्न सूत्र प्रणालीको सर्भर तथा प्राविधिक क्षमता तत्काल अभिवृद्धि गर्न, अन्तिम समयमा पनि उच्च चापमा प्रणाली निर्बाध सञ्चालन हुने व्यवस्था मिलाउन तथा इएफटी सम्बन्धी समस्या शीघ्र समाधान गर्न सरकारसँग उच्च प्राथमिकताका साथ निर्णय र कार्यान्वयनको माग गरेको छ।














