विपद्सँग जुध्न सैनिक आवासीय महाविद्यालय तेघरीका विद्यार्थीको कृत्रिम घटना अभ्यास

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीले विद्यालय विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले शुक्रबार सुदूरपश्चिम पृतना हेडक्वाटर, देवीदल गण र गुरुबक्स गुल्मको सहयोगमा विद्यालय विपद् व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न गरेको हो ।

nisarga

विद्यार्थीहरूलाई विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले बताएका छन् ।

रानाले विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि उत्तिकै आवश्यक हुने भएकाले कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुनुका साथै भविष्यमा आउने सम्भावित विपद्सँग सामना गर्न आवश्यक ज्ञान र सीप विकास हुने आफूले अपेक्षा लिएको रानाले बताए ।

उनले यस्ता अभ्यासले विद्यार्थीहरूमा विपद्का बेला सही निर्णय लिन, आत्मविश्वास बढाउन र जोखिम न्यूनीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी विद्यालयका प्रिन्सिपल सिद्धदेश्वर पन्त (प्रकाश)ले विद्यार्थीहरूलाई भूकम्प, आगलागी, दुर्घटना तथा अन्य विपद्का अवस्थामा कसरी सुरक्षित रहने, उद्धारमा कसरी सहभागी हुने र आवश्यक समन्वय कसरी गर्ने भन्ने विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा वातावरण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन विज्ञ लोकेन्द्र भट्ट, सुदूरपश्चिम पृतना हेडक्वाटर र देवीदल गण, गुरुबक्स गुल्मका प्रतिनिधिहरु, रेडक्रम कैलालीका प्रतिनिधिहरु, विपद्संग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरु लगायत विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेका थियो ।

अभ्यासका क्रममा विद्यालय परिसरमा आगलागी, भूकम्प लगायतका कृत्रिम विपद्को अवस्था सिर्जना गरी विद्यार्थी, विद्यार्थीहरुलाई उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपत्कालीन व्यवस्थापनका विभिन्न गतिविधिमा सहभागी गराइएको थियो ।