
धनगढी – गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्तिसम्बन्धी विवाद समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ। अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आठबुँदे सहमतिको मस्यौदा तयार भई अन्तिम स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको स्रोतले जनाएको छ।
सहमति मस्यौदाअनुसार स्वार्थको आरोप लागेका रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई कानुनी प्रक्रिया पूरा गरी पदबाट हटाइनेछ भने उपकुलपति डा. सुनिलकुमार जोशीलाई हालका लागि यथावत राखिनेछ। साथै, चालु शैक्षिक सत्रमै गेटामा एमबीबीएस अध्ययन–अध्यापन सुरु गर्ने र ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने विषयमा पनि सहमति जुटेको बताइएको छ।

यद्यपि, प्रधानमन्त्री कार्यालयले सहमति मस्यौदालाई अन्तिम रूप दिएपछि मात्र दुवै पक्षले औपचारिक हस्ताक्षर गर्नेछन्। त्यसपछि मात्रै सहमति सार्वजनिक गर्दै डा. केसीको अनशन तोडाउने तयारी गरिएको स्रोतको भनाइ छ।















