मुख्यमन्त्री भट्टले गरे सेती प्रादेशिक अस्पतालको अनुगमन

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको शपथ लिनुभएका भट्ट शनिबार अस्पतालको समग्र अवस्था बुझ्न निरीक्षणमा पुगेका हुन् । मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी), डायलायसिस सेवा, सघन उपचार कक्ष (आईसीयू), गाइने वार्डलगायत विभिन्न विभाग तथा वार्डको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उहाँले अस्पतालको भौतिक तथा सेवा प्रवाहको अवस्था सन्तोषजनक नरहेको बताए।

सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य सेवाको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था अपेक्षाअनुसार नरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । “सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमका लाखौँ जनताको भरोसा रहेको अस्पताल हो । तर यहाँको अवस्था हेर्दा ठीक देखिएन । वार्डमा बिरामीको अवस्था बेजोग छ, इमर्जेन्सीमा बेड छैन, ट्वाइलेटमा फोहोर छ ।

nisarga

समग्रमा हेर्दा सेती अस्पताल आफैँ बिरामीजस्तो देखियो,” उनले भने । मुख्यमन्त्री भट्टले आफ्नो पहिलो निर्णय नै स्वास्थ्य क्षेत्र केन्द्रित रहेको भन्दै प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताए । विशेषगरी डायलायसिस सेवा विस्तारसँगै सेती प्रादेशिक अस्पतालको समग्र सुधारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनको भनाइ छ ।

“मेरो धेरै लामो कार्यकाल त छैन । चमत्कारै गर्न सक्छु भन्ने होइन, तर सुधार गर्न सक्छु । यहाँ धेरै समस्या देखेको र सुनेको पनि छु,” मुख्यमन्त्री भट्टले भने । अस्पतालबाट बिरामीलाई अनावश्यक रूपमा निजी अस्पतालतर्फ पठाउने गरिएको भन्ने गुनासोप्रति समेत प्रदेश सरकारले अध्ययन गर्ने उनले बताए । सेती अस्पतालबाट ‘सेटिङ’मा बिरामी बाहिर पठाइने गरेको भन्ने गुनासो आफूले सुनेको भन्दै त्यसको वास्तविकता अध्ययन गरिने उनको भनाइ थियो ।

एक साताभित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन

मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेयलाई एक साताभित्र अस्पताल सुधारको स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । उनले अस्पतालमा तत्काल गर्नुपर्ने सुधार, आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा बजेटको आवश्यकतासहितको योजना तयार पार्न निर्देशन दिए । “पहिला सुधारका कार्ययोजना दिनुस् । कति बजेट आवश्यक हो, हामी स्रोत-साधनको सदुपयोग गर्दै आवश्यक बजेट विनियोजन गर्नेछौँ,” मुख्यमन्त्री भट्टले भने ।

तर बजेट विनियोजनका नाममा हुने अनियमितता र बेथितिमा आफूले कुनै सम्झौता नगर्ने उनले स्पष्ट पारे । उपकरण खरिदलगायतका विषयमा कमिसनको खेल स्वीकार्य नहुने भन्दै मुख्यमन्त्री भट्टले आफू शून्य सहनशीलताको नीतिमा अघि बढ्ने बताए । “यहाँको बेथितिमा म साथ दिँदैनँ । खगराज भट्ट कुनै उपकरण खरिद गर्दा कमिसन माग्ने मान्छे होइन । म शून्य सहनशीलता अपनाएर काम गर्छु । सबैको स्पिड त्यही होस्,” उनले भने ।

हरेक १५ दिनमा अस्पताल निरीक्षण गर्ने

मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालको सुधारका लागि नियमित अनुगमन गर्ने बताउनुभएको छ । उनले अब हरेक १५ दिनमा अस्पतालको निरीक्षण गरी सुधारको प्रगति हेर्ने जानकारी दिएका छन् । अस्पतालको अवस्थाबारे कागजी रिपोर्टमा मात्रै भर नपरी स्थलगत रूपमा सेवा प्रवाहको अवस्था बुझ्ने र देखिएका समस्या समाधान गर्दै जाने उनको भनाइ छ ।

प्रदेशभरका सरकारी चिकित्सकको विवरण एपमा राख्ने तयारी

मुख्यमन्त्री भट्टले प्रदेशभर सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको विवरण, उनीहरूको कार्यस्थल र ड्युटी समयसमेत डिजिटल माध्यमबाट निगरानी गर्न सकिने प्रणाली विकास गर्ने तयारी भइरहेको बताएका छन् । प्रदेशभर कुन चिकित्सक कहाँ कार्यरत छन्, कुन समयमा ड्युटीमा छन् भन्ने जानकारी सहजै प्राप्त हुने गरी एप निर्माण गर्ने सोचमा प्रदेश सरकार रहेको उनले बताए । “अब एउटा एप बनाइनुपर्छ । प्रदेशभर कहाँ कति चिकित्सक छन्, सरकारीमा को कहाँ र कतिबेला ड्युटी गरिरहेका छन्, सबै जानकारी त्यसमा होस् । यसरी काम गर्ने सोचिरहेका छौँ,”उनले भने ।

सरकारी अस्पतालमा ड्युटी समयमै निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकको विषयमा समेत निगरानी आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । सरकारी स्वास्थ्य संस्थामा चिकित्सकको नियमित उपस्थिति र सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल प्रणाली उपयोगी हुने उनले बताए । निरीक्षणका क्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा.नीरज अर्याल, आयुर्वेद महाशाखा प्रमुख डा। चेतराज जोशीलगायतको सहभागिता थियो ।

मुख्यमन्त्री भट्टले अस्पताल सुधारका लागि प्रदेश सरकार, अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् । सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिमका नागरिकले भरोसा गर्न सक्ने गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताए।