
अत्तरिया – कैलालीको अत्तरियामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको आयोजनामा बृहत् रक्तदान जीवनदान शिविर–२०८३ आयोजना गरिने भएको हो ।
बिहिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाकी सञ्चालिका ब्रह्माकुमारी रविनाले ‘विश्व बन्धुत्व दिवस’ तथा राजयोगिनी डा. दादी प्रकाशमणिको १९ औँ पुण्य तिथि÷स्मृति दिवसको अवसरमा भदौ ६ गते रक्तदान जीवनदान शिविर आयोजना गर्न लागिएको बताइन्।

उनले रगत दान गरौँ जीवन बचाऔँ भन्ने मान्यताका साथ अन्तर्राष्ट्रिय स्तरमै रक्तदान जीवनदान शिविर आयोजना गर्न लागिएको बताइन् ।
अत्तरिया उद्योग वाणिज्य संघ सँगको सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रममा यस क्षेत्रका सङ्घसंस्था क्लब सबैको साथ सहयोग रहने अपेक्षा लिएको उनले बताइन ।
शनिबार बिहान ८ बजेदेखि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाको प्राङ्गणमा रक्तदान कार्यक्रम सुरु हुने उनले बताएकी छिन् ।
पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाणिज्य संघकी उपाध्यक्ष धना देबी चोखालले रक्तदान कार्यक्रममा सहभागी हुन सबै उद्योग व्यवसायीलाई आह्वान गरेकी छिन् ।















