
काठमाडौं – बालबालिकालाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्मको लत लगाएको तथा प्रयोगकर्ताको सुरक्षासम्बन्धी विषयमा सर्वसाधारणलाई गुमराहमा राखेको आरोपमा अमेरिकी राज्यहरूसँग चलिरहेको कानुनी विवाद टुंग्याउन मेटाले १८ अर्ब अमेरिकी डलरसम्म तिर्ने र किशोर अवस्थाका प्रयोगकर्ताका लागि कडा नियम लागु गर्ने सम्झौता गरेको छ ।
मङ्गलबार सार्वजनिक गरिएको सम्झौतासँगै मेटाविरुद्ध संघीय अदालतमा चलिरहेको मुद्दा अन्त्य भएको छ । सम्झौता अनुसार आगामी एक दशकमा मेटाले फेसबुक र इन्स्टाग्रामको प्रयोगमा विभिन्न नयाँ नियम लागु गर्ने बताएको छ ।

अभिभावकको स्वीकृतिविना किशोर अवस्थाका प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राम दैनिक दुई घण्टाभन्दा बढी प्रयोग गर्न पाउने छैनन् । साथै, राति १२ बजेदेखि बिहान ६ बजेसम्म यी प्लेटफर्मको प्रयोग पूर्ण रूपमा बन्द गरिने बताइएको छ ।
यसैगरी बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्मको विद्यालय समयमा किशोर प्रयोगकर्तालाई पठाइने अधिकांश ‘पुस नोटिफिकेसन’ निष्क्रिय गरिने बताइएको छ ।
यसबाहेक उमेर समूहअनुसार प्रतिबन्धित सामग्रीमा बालबालिकाको पहुँच रोक्न थप कडा प्राविधिक उपाय अपनाइने उल्लेख छ ।
मेटाले कुनै गलत कार्य नगरेको दाबी गर्दै मुद्दा टुंग्याउने सम्झौता गरेको हो । कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत अभिभावक र किशोर–किशोरीका लागि सुरक्षित तथा फलदायी अनुभव प्रदान गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको जनाएको छ ।















