भोटेकोशी बाढी : १० दिनदेखि हिक्मतको प्रतीक्षामा परिवार

Image
maya metro

अत्तरिया – प्रहरी सहायक हवल्दार हिक्मत महराले भदौ १० गते बिहान ७ बजेको समयमा काठमाडौंमा रहेकी श्रीमती कौशीलासंग फोनमा कुरा गरे । सामान्य कुराकानीपछि हिक्मतले आफू अहिले ड्युटीमा जान लागेको र १२ बजेपछि फोन गर्ने बताए । श्रीमती आफ्नै नियमित धन्दातर्फ लागिन् ।

तर करिब १० बजे बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर महरा बेपत्ता भए । बैतडीको दोगडाकेदार गाउँपालिका–२ स्थायी ठेगाना तथा कैलालीको गोदावरी नगरपालिका-४ स्थित बास्कोटामा बसोबास भएका प्रहरी सहायक हवल्दार महरा कार्यालय सुरक्षा गार्ड रसुवामा दरबन्दी भई करिब ७ महिनादेखि प्रहरी चौकी, रसुवागढीमा कार्यरत थिए ।

nisarga

उनको परिवारमा सोही दिन देखि रुवावासी छ । हिक्मतकी श्रीमती, छोराछोरी, आमा,दाजुभाउजु,दिदीबहिनी र फुपूहरुले उनको प्रतीक्षा गर्न भने छाडेका छैनन् । श्रीमती कोशीला घटनाको समाचार सुनेकै दिनदेखि भावविह्वल छिन् । घरको आँगनमा कोही अपरिचित मानिसको पाइला पर्नासाथ हिक्मतकी आमा जन्तरादेवी रुदै केही खबर आयो कि ? सोध्न थाल्छिन् ।

भदौ ७ गते छोरा हिक्मतसंग कुरा गर्दा केहि दिनमा गौरा पर्वको लागि खर्च पठाइदिने बताएका थिए । अहिले छोरासंगको त्यहि अन्तिम संवाद सम्झेर उनी भक्कानिन्छिन् । दिन बित्दै जाँदा उनीहरुको आँखाको आँशु सकिसकेको जस्तो देखिन्छ तर फर्किने आशा बाँकी रहेकोले प्रतीक्षा भने अझै छ ।

विनाशकारी बाढीको १० दिन बितिसक्दा पनि उनको अवस्था एकिन हुन सकेको छैन । हिक्मतका दाजु भोज बहादुर पनि नेपाल प्रहरीमै कार्यरत छन् । कर्तव्य पालनकाक्रममा दुर्गममा रहेका भोज बहादुरले १० गते बेलुकीपख मात्रै भाइ सम्पर्कबिहिन भएको खबर पाए । थुप्रै प्रयासपछि उनी तेस्रोदिन रसुवा पुगेर भाइको खोजीमा लागे ।

४ दिनको प्रयासपछि पनि कुनै सफलता हात नपरेपछि उनी काठमाडौंमौ रहेकी भाइबुहारी कौशीला र उनका छोराछोरी लिएर गोदावरी ४ स्थित घरतर्फ आए । भदौ ८ गते भाइ हिक्मतसंग अन्तिम कुराकानी गरेका उनी घर आएदेखि पनि निरन्तर खोजीका लागि भौतारिरहेका छन् । मोबाइलमा आउने हरेक समाचार, सन्देश, फोटो चासोका साथ हेर्छन ।

‘घटनास्थलमा पनि आफै पुगेर चार दिन बिताएर आए केहि गर्न सकिने अवस्था छैन। भोज बहादुरले मलिलो स्वरमा भने, बुहारीले त खबर सुनेकै दिनदेखि खानापानी छोडेकी छिन्, आमाको अवस्था त्यस्तै छ, मैले कसरी सम्झाउने? घर नै लथालिंग छ ।’ उनको घरमा भेट गर्न र हिक्मतको खबर जान्न आउने आफन्तको बाक्लो आउजाउ छ ।

राज्यकातर्फबाट भइरहेको खोजी कार्यको पनि भोज बहादुर खुलेरै प्रशंशा गर्छन् । अझै पनि भाइ कतै जिवित छ की भन्ने झिनो आस पनि उनले छोडेका छैनन् । तर भाइसंगै कार्यरत ९ जनामध्य एक जनाको शव फेला पर्नु र बाँकी ८ जना हालसम्म बेपत्ता नै हुनुले उनको मनमा अशुभ नै हुने होकी भन्ने डर पनि पसेको छ ।

एकातिर शोकले विक्षिप्त बनेको परिवारलाई सम्हाल्ने जिम्मेवारी अर्कोतिर हराएका भाइको खोजीलाई निरन्तरता दिने दायित्व यतिबेला भोज बहादुरको काँधमा छ । उनी भन्छन् ‘भाइ जीवित भेटिए मेरो जीवनको सबैभन्दा ठूलो खुसी हुनेछ, त्यो सम्भव नभए कम्तीमा अन्तिम संस्कार गर्न मिल्ने गरी उसको शव त भेटियोस्।’