
धनगढी – कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको छ। प्रहरीले बरामद सामानको कुल मूल्य १ लाख ६१ हजार ३२० रुपैयाँ रहेको जनाएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट मंगलबार प्रहरीले भन्सार छली ल्याइएका करिब ४९ हजार ८४० रुपैयाँ मूल्य बराबरका बिडी, सुर्ती, प्लास्टिक झिल्ली, दुई थान साइकललगायतका सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सामानसहित बेलौरी नगरपालिका–४ रिछाहाकी ५० वर्षीया राधा राना र वडा नम्बर ५ की ४० वर्षीया पार्वती कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको हो।
यस्तै, बेलौरी नगरपालिका–१ सिमघारीबाट प्रहरीले भारतबाट भन्सार छली ल्याइएका करिब ३८ हजार ४०० रुपैयाँ मूल्य बराबरका पेय पदार्थ, बोइलर कुखुरालगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको छ। प्रहरी चौकी फटैयाबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएको हो।
यसैगरी, कैलाली जिल्लाका विभिन्न स्थानबाट पनि प्रहरीले भारतबाट भन्सार छली ल्याइएका करिब ७३ हजार ८० रुपैयाँ मूल्य बराबरका पेय पदार्थ, बिडी, सुर्ती, बोइलर कुखुरालगायतका सामान बरामद गरेको छ।















