
अत्तरिया – कैलालीको अत्तरियाका युवा नेता लोकराज पाण्डे (आगो)ले आफ्नो जन्मदिनको अवसर पारेर चारवटा सामाजिक संस्थालाई आजीवन वार्षिक आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
आज अत्तरियामा एक कार्यक्रमको आयोजना गर्दै उनले अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउस, ज्येष्ठ नागरिक समाज गोदावरी, सुप समावेशी आधारभूत विद्यालय अत्तरिया र धनगढीस्थित दृष्टि फाउन्डेसनलाई वार्षिक १२ हजार रुपैयाँका दरले आजीवन सहयोग गर्ने घोषणा गरेका हुन् ।

सरकारले पुरा गर्नुपर्ने दायित्व उठाइरहेका सामाजिक संस्थाहरुले सरकारी निकायसंग सहयोग माग्दा तिरस्कृत हुनु पर्ने अवस्था न्यून गर्न आफ्नो यस कार्यले भूमिका खेल्ने उनले विशवास व्यक्त गरे ।
चारवटै संस्थालाई निरन्तर रूपमा वार्षिक सहयोग उपलब्ध गराउने उनको प्रतिबद्धता छ । उनले आज चारै संस्थालाई १२ हजार रुपैयाँ प्रदान समेत गरेका छन् ।
सबको साथ सबको विकास, गास, बास र कपास हाम्रो अभियान भन्ने नारासहित आगोले उक्त कार्यको सुरुवात गरेका हुन् ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु)ले आगोको यस पृथक कार्यले अरुलाई पनि प्रेरणा मिल्ने बताए ।
















