
दुई दिनदेखि लगातार वर्षा भएपछि कञ्चनपुरको जगबुडा नदीको जोखिममा रहेको दोधारा–चाँदनी नगरपालिका–८ झर्का टोलका पाँच परिवार सुरक्षित स्थानमा सरेका छन्। जगबुडा नदीको जोखिममा रहेका उक्त बस्तीका पाँच परिवार सरसामानसहित जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सरेका हुन्। यसअघि दोधारा–चाँदनी–३ पटेराखल्लाका १४ परिवार पनि जमुना आधारभूत विद्यालयमा सरेका थिए।
दोधारा–चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बूले उच्च जोखिममा रहेका परिवारलाई पालिकाबाटै खानपिनको व्यवस्था गरिएको बताए।दोधारा–चाँदनीमा जगबुडा र महाकाली नदीका कारण डुबान तथा कटानको जोखिम रहँदै आएको छ।कञ्चनपुरका प्रहरी प्रवक्ता टेकबहादुर रावतले शनिबार बिहान १० बजेसम्म जिल्लामा डुबान तथा कटानको अवस्था नरहेको बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपद्को पूर्वतयारी भइरहेको बताए। उनका अनुसार मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेकाले जिल्लाका अति जोखिम, जोखिम र सामान्य जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।
विगतमा परेको भारी वर्षाका कारण जिल्लाका महाकाली, जगबुडा, चौधर, सुनबरा, दोदा, भुजेला, झरनाखोला, अनखोला लगायत स–साना नदीखोलामा डुबान, कटान र पटान हुँदै आएको छ। सम्भावित जोखिम सामना गर्न कञ्चनपुरका सरोकारवाला निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।













