
सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, दार्चुला र अछाममा सार्वजनिक यातायात अवरुद्ध भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, दार्चुला र डडेल्धुरामा यातायात पूर्ण रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना जारी गरेर यातायात सञ्चालनमा रोक लगाएका हुन् । लगातारको वर्षाका कारण यात्रामा जोखिम रहेको भन्दै यातायात सञ्चालनमा रोक लगाइएको हो ।

अछामको चौखुट्टे र साँफेको बीच क्षेत्रमा सडक भासिएका कारण यातायात अवरुद्ध छ । चौरपार्टी गाउँपालिका-६, दुनीस्थित पहलमानसिंह स्वार राजमार्ग २० मिटर भासिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाम सदरमुकाम मंगलसेनदेखि रामारोशन जोड्ने भित्री सडकसमेत भाटबाडा क्षेत्रमा पहिरोका कारण अवरुद्ध छ । पहिरो हटाउने काम जारी हरेको अछाम प्रहरीले जनाएको छ ।
डोटीमा पनि सडक भासिएको छ । जिल्लाको शिखर नगरपालिका-३ को रामपुर क्षेत्रमा दीपायल–डडेल्धुरा सडक भासिएको हो ।
दार्चुलामा महाकाली राजमार्ग अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार, अवरुद्ध महाकाली राजमार्ग मर्मतको काम हुँदै छ । दिउँसोसम्म मर्मतको काम सक्ने र सवारी सञ्चालन गरिने प्रहरीले बताएको छ । बाजुराको कोल्टी क्षेत्रमा सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले बताएको छ ।














