
डोटी – बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका गएका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा भएकाे बर्षा र भारी हिमपातपछि उनीहरू सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

कात्तिक ९ गते बडिमालिका जाने भन्दै पाँच जना बाजुरा सदरमुकाम मार्तडीबाट हिडेका थिए । तीन जना बडीमालिका पुगेर फर्किसकेका तर दुइ जना सम्पर्कबिहिन भएका सूचना अधिकारी शाहीले बताए । मनिष र सागरसंग शुक्रवारदेखि सम्पर्क हुन नसकेको उनले जानकारी दिए । ‘हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो’, शाहीले भने, ‘उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।’
दुवै जनाको मोबाइल बन्द भएको सङ्केत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उनले बताए ।






























