मल लिन घण्टौँ लाइन, बिहान ३ बजेदेखि सहकारीको ढोकामा किसान

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका किसानलाई गहुँ तथा तोरी खेतीका लागि आवश्यक रासायनिक मल पाउन सास्ती भएको छ।

गहुँ छर्ने मुख्य सिजन सुरु भइसक्दा पनि आवश्यक मल उपलब्ध नहुँदा किसानहरू समस्यामा परेका छन् । मल आएको दिन सहकारीको ढोकामा घण्टौँ लाइनमा बसेर पनि मल नपाएको उनीहरुको गुनासो छ ।

nisarga

गोदावरी नगरपालिका–८ का किसान रामलाल भगत शुक्रबार बिहान ३ बजेदेखि नै साना किसान कृषि सहकारी संस्था लिमिटेडको ढोकामा लाइनमा बसेका थिए। उनले तोरी र गहुँमा छर्नका लागि आवश्यक मल नपाएको गुनासो गरे। खेतीपाती गर्ने समयमा मल नपाउँदा निकै समस्या भएको उनको भनाइ छ।

त्यस्तै अर्का किसान चनक चौधरी बिहान ५ बजेदेखि नै मल लिन लाइनमा बसेका थिए। दुई बिघा जमिनमा गहुँ खेती गर्दै आएका उनले रासायनिक मल अभावले खेती प्रभावित हुने चिन्ता व्यक्त गरे। आवश्यक समयमा मल नपाउँदा किसानहरू समस्यामा परेको उनले बताए।

अर्की किसान स्यानी चौधरीले पनि रासायनिक मल पाउन निकै कठिनाइ भइरहेको बताइन्। खेती गर्ने समयमै मलका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको उनको गुनासो छ। त्यस्तै अर्की किसान चन्द्रा सिंहले सरकारले किसानको समस्याप्रति गम्भीर हुनुपर्ने बताइन्।

साना किसान कृषि सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक टेकराज भट्टले नगरपालिकाले निर्धारण गरेको कोटा अनुसार बिहिबार आएको ५४ कठ्ठा डिएबी र ५८ कठ्ठा युरिया मल वितरण गरिएको बताए ।

मल लिन करिब २५० जना किसान लाइनमा लागेको भए पनि सबैलाई पुर्याउन नसकिएको उनले बताए । गोदावरी नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले नगरपालिकाका किसानलाई करिब तीन सय टन मल आवश्यक पर्ने भए पनि कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीबाट ९६ टन मात्रै आएको बताइन् ।

माग बमोजिम मल पाउन सधैं समस्या हुने गरेको उनले बताइन् । ‘हाम्रो नगरपालिका भरका किसानलाई करिब तीन सय टन मल आवश्यक पर्छ, तर हामीले अहिले ९६ टन पाएर सबै सहकारीलाई समानरुपमा वितरण गरेका छौं । उनले भनिन् ।’

सबै सहकारीलाई बराबर वितरण गरिएको उनले बताइन् । गहुँ छर्ने र तोरीमा मल हाल्ने उपयुक्त समयमा समेत किसानले सहज रूपमा रासायनिक मल पाउन सकेका छैनन् । समयमै पर्याप्त मल उपलब्ध गराउन सम्बन्धित निकायसँग किसानहरुको माग छ ।