
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले गिट्टी कुटेर जिवीकोपार्जन गर्ने अति विपन्न महिलाहरुलाई गिट्टी कुट्ने सामग्री वितरण गरेको छ । नगरपालीकाको महिला तथा बालबालीका शाखाले वडा नम्बर ८ र ९ मा रहेका गिट्टी कुटेर जीवीकोपार्जन गर्ने ३१ जनालाइ सहज सामग्री प्रदान गरेको हो । डा नं। ९ का वडाध्यक्ष लहानु चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साँउदले गिट्टी कुट्ने महिलाहरुलाई केहि सहज होस् भनी सामग्री वितरण गरिएको बताए । उनले गिट्टी कुटट्ने महिलाहरुलाई यहि काममा मात्रै नभइ अन्य क्षेत्रमा समेत इलम गर्न आग्रह गरे ।गिट्टी कुटट्ने महिलाहरुले केहि इलम गर्न चाहेमा आफुले सक्दो सहयोग गर्ने बताँउदै उनले भने “यो सामग्री हस्तान्तरण गर्नुको अर्थ तपाँइहरु सँधै गिट्टी कुट्नुस भनेको होइन,तपाँइहरु बंगुर पालन,कृषी लगाएतका कुनै काम गर्नुहुन्छ भने हामी नगरपालीकाको तर्फबाट सक्दो सहयोग गर्छौ । ” उनले गिट्टी कुट्नमा गरिने मेहनत कृषि कार्यमा गरे दोब्बर प्रतिफल प्राप्त हुन सक्ने बताउदै उनले गिट्टी कुट्नु भन्दा आय आयआर्जन मुलक कार्य गर्दा भविष्यलाई पनि राम्रो हुने बताए ।


कार्यक्रममा बोल्दै गोदावरी नगरपालीका महिला तथा बालबालीका शाखाकी प्रमुख गोदावरी खत्रीले ३ वर्षदेखी नगरभित्रका गिट्टी कुटेर जिवीकोपार्जन गर्दै आएका महिलाहरुलाई महिला तथा बालबालीका शाखाले सहज सामग्री प्रदान गर्दै आएको बताईन् । उनले उनले हरेक वर्ष सहज सामग्री वितरण गरिदै आएको भन्दै गिट्टी कुट्ने महिलाहरुलाई आयआर्जनमा सहजता होस भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताईन ।
सामग्री वितरणमा कोही नदोहोरीउन र कोही नछुटुन भन्ने विषयलाई मध्यनजर गर्दै सामग्री प्राप्त गरिसकेका व्यक्तिहरुको नामावली वडामा र नगरमा राख्ने गरेको उनले बताईन । चालु आर्थिक वर्षमा अति विपन्न गिट्टी कुट्ने महिलाहरुलाई आयआर्जन सचेतना तथा सामग्री वितरण शिर्षकमा छुट्याईएको ३ लाख बजेटबाट नगरपालिकाले सामग्री वितरण गरेको हो । उक्त शिर्षक अन्तर्गत नै नगरपालिकाले गिट्टी कुट्ने महिलाहरुलाई २ दिने सचेतना कार्यक्रम पनि आयोजना गरेको थियो ।

नगरपालीकाले वितरण गरेका सामग्रीमा फरुवा,बेल्चा,हतौडा,चस्मा,टिफीन डिब्बा,बाटा,प्लास्टीक पिर्का,छाता,पञ्जा,जाली,मास्क र स्यानीटाइजर रहेका छन् । महिला तथा बालबालीका शाखाकी कर्मचारी प्रेमा बडुले सञ्चालन गरेको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं। ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी, कार्यपालिका सदस्य गणेशी विसि, साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरका अध्यक्ष रामप्रसाद चौधरी लगायतको सहभागीता रहेको थियो ।















