जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

Image
maya metro

 परासी – कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ। कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएकोे छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा स्थगित गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयमा दैनिक दुई÷तीन सय सेवाग्राही नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेका छन्।

nisarga

इलाका प्रशासन कार्यालय सेमरीलेसमेत अत्यावश्यक सेवा स्थगित गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकोले आगामी माघ ९ गतेसम्म सेवा प्रवाह स्थगित गरिएको कार्यालय प्रमुख मनोज सुवेदीले जानकारी दिए। पछिल्लो पटक जिल्लामा कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा १०० जना सक्रिय सङ्क्रमित रहेका छन्।

रासस