टेलिकमको तार चोरेको आरोपमा सुदुरपश्चिमका ३ सहित भायोनेटका ५ जना कर्मचारी पक्राउ

Image
maya metro

इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलिकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा र गोविन्द साउद, गोरखा घर भएका राजन घले तथा काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।

nisarga

भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाडीमा हिँड्ने उनिहरुले तार चोरी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । हात्ती गाडीको अगाडी ‘दुरसञ्चार इन्टरनेट सेवा’ लेखिएको बोर्ड राखेर हिँड्ने हुनाले उनीहरुलाई सहजै कसैले शंका गर्थेनन् । आरोपीहरुले सो सुविधाको फाइदा उठाएर तार चोरी गर्दै आएका थिए ।

शनिवार तार चोरेर सो तार छिल्नलाई जंगलतिर जाँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीबाट उनीहरुलाई पक्रेर अनुसन्धान भइरहेको बताइएको छ । शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तार चोरीमा उनीहरु संलग्न रहेको खुलेको छ ।’ प्रहरीले आरोपीहरुको साथबाट एउटा तारमा ५० ओटा र १ सय वटा लाइन जडान गर्न मिल्ने मोटो आकारको तारा बरामद गरेको छ ।