सुन्तला बेचेर एक वर्षमा पचास लाख

Image
maya metro

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्र्याएका छन्। व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन्। पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन्। दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा पचास लाख गाउँमा भित्रिएको जानकारी दिए।

“गतवर्ष २५ लाख बराबरको सुन्तला बिक्री भएको थियो”, उनले भने, “नयाँ बिरुवा थपिएका, रोग कीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो।” विगतका वर्ष मङ्सिर महिनामै सुन्तला बिक्री गरिसकेका हुन्थे। यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन्।

nisarga

एकजना किसानले तीस हजारदेखि रु दुई लाख तीस हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ। व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो। ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तलाखेती भएको छ। पन्ध्र हजार बोटमध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ। परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए। वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट पचास हजार भन्दा बढी आम्दानी भएको उनले बताए। सडक यातायातको सुविधा भएपछि बाझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन्।

दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो। भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए। दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले बताए।

बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो। दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताए ।

रासस