
काठमाडौं – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार भर्चुअलमाध्यमबाट पत्रकार सम्मेलन गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको जानकारी दिएको हो।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गरेको छ। वि.सं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो।

विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।
आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।
राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गरिएको छ।
नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो।राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो।
लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या पनि जनगणना-२०७८ मा समेटियो
नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।
नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना(२०७८ मा समेटिएको हो ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ ।
गणक आफैं सो भेगमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको उनले जानकारी दिएका छन् ।












