
चितवन – सडक विस्तारको क्रममा गैंडा मरेको विषयमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सडक निर्माण कम्पनीका प्रतिनिधिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बुधबार निर्माण कम्पनी इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । भरतपुर गोन्द्राङमा आइतबार दिउँसो खाल्डोमा परेर गैंडा मरेको थियो ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो। सडकले वन्यजन्तु करिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानून अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाएको छ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गको भरतपुर खण्डअन्तर्गत पर्ने नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ किलो मिटर ८० मिटर सडकलाई ६ लेनको फराकिलो सडक बनाइँदै छ । सडक किनारको नाला ढलान गर्ने प्रयोजनका लागि खनेको खाल्डोमा परेर गैंडा मरेको हो । ढलान सकिए पनि खाल्डो नपुरेर त्यस्सै छाडेका कारण त्यसैमा परेर लगभग ११ वर्षको भाले गैंडाको ज्यान गएको थियो ।
गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । गत वर्ष सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार देशभर ७ सय ५२ र चितवनमा मात्रै ६९४ गैंडा छन् ।













