काठमाडौँ उपत्यकामा सहरी पक्षीको सङ्ख्यामा वृद्धि

Image
maya metro

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो समयमा सहरी पक्षीको सङ्ख्यामा वृद्धि भएको छ। यस वर्षको जाडो मौसममा गरिएको ‘अर्बन बर्ड काउन्ट’ मा उपत्यकामा कूल छ हजार ७०१ चराको सङ्ख्या रेकर्ड गरिएको छ। गत वर्षको तुलनामा ९४७ सहरी पक्षीको सङ्ख्या वृद्धि भएको देखिएको हो। सन् २०२१ को गणनामा कूल पाँच हजार ७५४ सङ्ख्या रेकर्ड गरिएको थियो।

नेपाल पक्षी संरक्षण सङ्घले सन् २०२२ को जनवरी १ देखि ८ सम्म उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिममा गरी कूल २४ योजनाबद्ध ‘ट्रान्जिट’ मा सहरी, उपनगरीय र ग्रामीण क्षेत्र गरी तीन क्षेत्रमा सहरी पक्षीको अवलोकन गरेको थियो। गणनामा मलेवा, घर काग, घर भँगेरा, घर गौँथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र वस्तु वा बकुल्लालगायत प्रजातिका चरा सबैभन्दा बढी पाइएको सङ्घका ‘पोलिसी एण्ड एडभोकेसी अफिसर’ किर्ती नेपालले जानकारी दिइन्।

nisarga

उपत्यकाको सहरी क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७६९ सङ्ख्याले वृद्धि भएको छ। गत वर्षको गणनामा सहरी क्षेत्रमा जम्मा एक हजार ९२६ चरा देखिएका थिए भने यसवर्ष दुई हजार ६९५ चरा फेला परेका छन्। यसैगरी ग्रामीण क्षेत्रमा पनि चराको सङ्ख्या २९० ले बढेको छ। ग्रामीण क्षेत्रमा सन् २०२१ मा एक हजार ५२५ चराको सङ्ख्याको तुलनामा यस वर्ष एक हजार ८१५ चराको अभिलेखीकरण भएको छ तर उपनगरीय क्षेत्रमा चराको सङ्ख्या २८८ ले घटेको देखिएको छ।

गत वर्ष दुई हजार ३०३ सङ्ख्या रेकर्ड गरिएको थियो भने यस वर्ष त्यहाँ दुई हजार १५ सङ्ख्या रेकर्ड गरिएको उनले बताइन्। यो कार्यक्रम सङ्घले जाडो र गर्मी दुई मौसममा गर्नेछ। प्राप्त जानकारीले उपत्यकाको सहरी चराको सङ्ख्याको अवस्थाबारे स्पष्ट चित्रण गर्छ। यस यामको गणनामा ३५ भन्दा बढी सरोकारवाला व्यक्ति संलग्न रहेका थिए।

रासस