सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दै

Image
maya metro

इलाम – इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन्। रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन्। खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन्। सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो।

रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन्। प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए।

nisarga

सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन्। बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ। तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन्। चुरे क्षेत्रका किसानले वार्षिकरूपमा सुपारी बेचेर रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका छन्।

सुपारी काँचै बिक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन। रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरा बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ। रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ। अधिकांश क्षेत्रमा सुपारी हुने भएकाले किसान सुपारी खेतीतर्फ लागिपरेका छन्।

रासस