१० प्रकारका वस्तु आयातमा प्रतिबन्ध

Image
maya metro

काठमाण्डाै – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।

६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन ।

nisarga

कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि आफैंले ल्याउन भने बाधा नपर्ने सूचनामा उल्लेख छ।

यो प्रतिबन्ध आगामी असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ। तर  कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ। यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि याे प्रतिबन्ध लागू नहुने जनाइएकाे छ।