
डोटी – नेपाली कांग्रेस डोटीको पालिका कमिटीहरुले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छन् । मंगलबार पार्टीकार्यालयमा जिल्लाका ९ वटै पालिका पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकले गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार नगर्ने र भोट नहाल्ने निर्णय गरेका हुन् ।
दिपायल सिलगढी नगरपालिकाका नगर कमिटी सभापति गणेश मलासीको सभापतित्वमा बसेको बैकमा जिल्लाका नौ वटै पालिकाका सभापति तथा पदाधिकारीहरुको सभागिता रहेको थियो ।

बैठकले कांग्रेस केन्द्रीय कमिटीले डोटीमा गठबन्धन गर्न गरेको निर्णय नमान्ने जनाउँदै डोटी कांग्रेसको मर्म विपरित गरिएको निर्णयका विरुद्ध गएर प्रचार प्रसार र मतदान नगर्ने जनाएको हो । जिल्लामा नेपाली कांग्रेसको परिवेश र स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत परीणाम अनुसार गठबन्धन आवश्यक नरहेको बैठकको निष्कर्ष छ ।
यस अघि जिल्ला कार्य समितिले समेत गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको थियो । कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो । जिल्लाका सबै भातृ र शुभेच्छुक संगठनहरुले समेत गठबन्धन स्वीकार्य नहुने जनाउँदै आएका छन् ।
केन्द्रीय कमिटीले जवरजस्ती लाद्न खोजेको निर्णयले कांग्रेसका नेताहरुमा अन्यौल्ता छाएको छ ।













