
काठमाडौँ – सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ ।
बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपियाँ चाहिन्छ ।
गत वर्ष पनि सरकारले बजेट भाषणमार्फत नै कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने घोषणा गरेको थियो । तर अर्थ मन्त्रालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि मात्रै रकम उपलब्ध गराएको थियो । कक्षा ६ का विद्यार्थीका लागि थप चाहिने एक अर्ब १५ करोड रुपियाँ पनि अर्थ मन्त्रालयबाट अझै नआएको उपसचिव अर्यालले जानकारी दिए ।
उक्त रकम मन्त्रालयले सोधभर्ना गरेर विद्यालयलाई पठाएको छ । अर्थ मन्त्रालयका उपसचिव धु्रव पण्डेले गत वर्ष लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको र खर्च कटौती गर्नुपर्ने अवस्था आएका कारण शिक्षा मन्त्रालयले मागे अनुसारको रकम उपलब्ध गराउन नसकिएको बताए ।
यस पटक पनि बजेटमा एकथरि घोषणा गर्ने तर व्यवहारमा अर्कै गर्ने प्रवृत्तिका कारण समस्या आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका योजना महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालका अनुसार दिवा खाजा कार्यक्रमको लागि अपुग रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । स्थानीय तहले आफूले पाएको रकमबाट कक्षा ६ सम्मकै विद्यार्थीलाई खाजा खुवाइरहेका छन् ।
सरकारले आर्थिक वर्ष २०७८/७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर सोही वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्याएको थियो ।
बजेटमार्फत गरिएको घोषणा अनुसार रकम उपलब्ध गराइदिन मन्त्रालयले यसअघि पनि पटक पटक अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि रकम प्राप्त भएको छैन । दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराइन्छ । यो भनेको दैनिक १५ रुपियाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा हो ।



















