
गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सीमानामा पर्ने गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । सोमबार उनले उक्त नाकाकाे निरीक्षण गरेका हुन् ।
धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आएका गृहमन्त्री अर्यालयसहितको टोलीले त्रिनगर भन्सार र सशस्त्र प्रहरीको कञ्चनपुर स्थित डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरे ।

मन्त्री अर्यालले नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सीमानाबाट हुने चेलीबेटी बेचबिखन नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न मन्त्री अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
त्यस्तै अर्यालले कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् । अर्यालयसहितको टोलीले सुक्खा बन्दरगाह अनुगमन गरेकाे गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलले जानकारी दिए ।
“प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,” उनले भने, “गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत अनुगमनमा थियो।”
गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए । भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय पक्षबाट ठेक्का भएर निर्माण व्यवसायीले काम थालिसकेका छन्। निर्माण व्यवसायीले निर्माण उपकरण भारतबाट आयोजनाका लागि आयात प्रक्रिया थालेका छन्। त्यस्तै
अर्यालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका छन ।
धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका हुन्। उनले त्यहाँ पुगेर अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए।
गृहमन्त्रीले अवलोकनकै क्रममा अस्पतालको बारेमा त्यहाँ कार्यरत चिकित्सकहरूले सामान्य जानकारी गराएका थिए।













