
पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा उपस्थित भएका छन्। सोमबार मध्याह्न लेखक सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन्।
आयोगले गत साता बयानका लागि पत्र पठाएपछि उनी आयोगमा हाजिर भएका हुन्। जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गरिरहेको आयोगले तत्कालीन गृहमन्त्रीको भूमिकाबारे सोधपुछ गर्ने जनाएको छ।

जेनजी आन्दोलनका बेला ७६ जनाको ज्यान गएको थियो। उक्त समयमा रमेश लेखक गृहमन्त्री रहेका थिए भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग पनि बयान लिने तयारी गरेको छ।

















