सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी

Image
maya metro

चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन नगरिए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमतिका बुँदाहरू दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पूरा नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।

nisarga

यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा समतामूलक पहुँचको माग राख्दै सुरु गरिएको २४ औँ सत्याग्रह २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो। तर, सरकारले उक्त सहमति कार्यान्वयन गर्नुको साटो चिकित्सा शिक्षा ऐन र सुशासनविपरीत निर्णयहरू गरेपछि डा. केसीले कात्तिक महिनामा नौ दिन लामो २५ औँ सत्याग्रह गरेका थिए।

सहमतिलगत्तै तिहार र छठ पर्वको सार्वजनिक बिदा परेकाले सरकारलाई कार्यान्वयनका लागि केही दिन थप समय दिइएको विज्ञप्तिमा उल्लेख छ। जनताको स्वास्थ्य र शिक्षासँग जोडिएका संवेदनशील विषयमा सरकारलाई प्रतिबद्धताबाट पछि हट्ने कुनै छुट नभएको डा. केसीले बताएका छन्। उनले अब पनि सहमति कार्यान्वयन नगरिए वा सहमतिविपरीतका गतिविधि भए पुनः आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने स्पष्ट पारेका छन्।