कैलालीको गोदावरीधाममा बाह्रराशि दर्शन मकर मेला सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला सुरु भएको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल मानिने गोदावरी धाममा मकर संक्रान्तिका अवसर पारेर सुरु भएको मकर मेलाको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन  गरेका छन् ।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतिकका रुपमा बाह्रराशि दर्शन मकर मेला आयोजना गरिको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

nisarga

उनकाअनुसार धाममा बाह्र राशीको स्थापना गरि प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा धाममा स्थापना गरिएको कुम्भ बाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको छ । मकर मेलामा सुदूरपश्चिमसहित सिमावर्ती भारतका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन् ।

आज बिहानैदेखि भक्तजनहरु धाम पुग्ने क्रम चलिरहेको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुसार महाकुम्भपछि मकर मेलाको आयोजना गरीएको आयोजकले जनाएको छ ।

मकर संक्रान्तिका अवसरमा माघ १ गते गोदावरी धाममा स्नान गर्ने भक्तजनहरुको समेत घुइँचो लाग्ने गर्दछ । आजदेखि माघ १२ गतेसम्म सञ्चालन हुने बाह्रराशि दर्शन मकर मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन् ।

मेलाको उद्धघाटन कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका व्यक्तित्वहरू, गुरुकुलका बटुहरू तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो ।