
अत्तरिया – सहिद दिवसको अवसरमा कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । अत्तरिया जेसीजले सहिद दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको हो ।
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया लगायतको उपस्थिति रहेको सो कार्यक्रममा सहिदहरुको तस्बिरमा माल्यार्पण पनि गरिएको थियो ।


देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदहरूप्रति श्रद्धापूर्वक दीप प्रज्वलन गरीएको अत्तरिया जेसीजका सचिव शंकर साउँदले बताए ।
नेपालमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा सहिद दिवस मनाउने गरिएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो।
विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।













