
दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टाड क्षेत्रमा शुक्रबार बेलुकी पहाडबाट खसेको ठुलो पहिरोका कारण चमेलिया नदी आंशिक रूपमा थुनिएको थियो भने भट्टाड बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।
पहिरोले आंशिक रूपमा थुनिएको चमेलिया शनिबार भने बिनाअवरोध बगिरहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिए । हाल सो स्थानमा अझै ससाना पहिरो खसिरहेको उनले बताए ।

ठुलो पहिरो जाने क्रम रोकिएपछि चमेलिया नदीको जल प्रवाहमा कुनै अवरोध नभएको उनले बताए । चमेलिया नदी नियमित झैँ बगिरहेको उनले जानकारी दिए । भट्टाड बस्ती पहिरोको उच्च जोखिममा परेपछि शुक्रबार नै १० परिवारलाई सुरक्षित स्थानमा सारिसकिएको उनले बताए ।
पहिरो खस्ने क्रम नरोकिएकाले उक्त बस्तीका वस्तुभाउ, सरसामान सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय र पालिकाको विपत् व्यवस्थापन शाखाको टिमले सुरक्षित स्थानमा सारिरहेको उनले बताए । बस्ती बसाउने दीर्घकालीन व्यवस्थापन नभएसम्मका लागि भट्टाड बस्तीलाई गुरसाड बस्तीमा स्थानान्तरण गरिएको अध्यक्ष बोहोराले बताए ।
प्राकृतिक विपत्ति जहाँ जतिबेला पनि हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रभावित क्षेत्र र नदी तटीय क्षेत्रका नागरिकलाई गाउँपालिकाबाट सूचना जारी सन्देश प्रवाह गरिरहेको उनको भनाइ छ ।
स्थानीय मञ्जु लोथ्यालका अनुसार पहिरो प्रभावित क्षेत्रका घरमा रहेका सरसामान र पशुचौपायालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । पहिरोका कारण मानवीय तथा भौतिक क्षति नभए पनि किसानका बालीमा क्षति पुगेको उनले बताए ।
क्षतिको वास्तविक अवस्था बुझ्न तथा प्रभावित बालीको विवरण सङ्कलन गर्न गाउँपालिकाबाट प्रभावित क्षेत्रमा कर्मचारी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष बोहोराले बताए। पहिरोको जोखिमका कारण विद्यालय आवतजावतमा समेत असर परेको छ ।
सिती गाउँको विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई जोखिम कम नभएसम्म सुरक्षित स्थानमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकाबाट सहजीकरण भइरहेको उनले बताए ।
प्रभावित क्षेत्रका स्थानीयका लागि हाल पालिकासँग उपलब्ध रहेका त्रिपाल, म्याट्रेसलगायत आवश्यक सामग्री त्यसतर्फ पठाइएको उनको भनाइ छ । पहिरोको प्रत्यक्ष जोखिम अपिहिमाल बेसक्याम्प पदयात्रामा परेकाले बेसक्याम्प पदयात्रा नगर्न सूचना जारी गरिएको छ ।
पहिरोकै कारण सितीगाउँबाट अर्काे गाउँ खायकोट, ल्वाथी तथा अपि बेसक्याम्प जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । अपिहिमाल बेसक्याम्प पदयात्रामा पर्ने धनबोरा भन्केक्षेत्रमा चमेलिया नदीमाथिको काठेपुलको एकातर्फको भाग भाँचिएकाले यात्रा थप जोखिमपूर्ण बनेको गाउँपालिकाले सूचना जारी गरेर जनाएको छ ।
पुलबाट आवतजावत गर्दा आवश्यक सावधानी अपनाउन तथा भारी सामान बोकेर पुलमा नहिँड्न खच्चडलगायतका चौपायालाई समेत प्रयोग नगर्न अनुरोध गरेको छ । प्राकृतिक विपत्तिको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासी, विद्यार्थी तथा पदयात्री सबैलाई सतर्क रहन आग्रह सूचना जारी गरिएको छ ।















