कर्ण मल्लसहितका नेतालाई घर फर्किन डडेल्धुरा कांग्रेसको आग्रह

Image
maya metro

डडेल्धुरा – यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन लाग्दा नेपाली कांग्रेस डडेल्धुराले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान गरेको छ। ।

नेपाली कांग्रेसले स्वतन्त्रता, समानता, लोकतन्त्र, संविधान र अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिहरूसँग एकता कायम गर्न खुला छलफलको पहल गरेको जनाएको छ। पार्टीले आफ्ना सबै नेता, कार्यकर्ता र सदस्यलाई पनि साझा रणनीतिमा गोलबद्ध हुन सार्वजनिक अपिल गरेको छ।

nisarga

यसै सन्दर्भमा डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरिएको छ। जिल्ला सभापति भीमबहादुर साउदले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन ती सबै नेतालाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

हाल यी सबै नेता नेपाली कांग्रेस विपीमा सक्रिय छन्। उनीहरु जिल्ला अधिवेशनमा आफूहरुलाई बाइपास गरेको भन्दै कार्यकर्तासहित नेपाली कांग्रेस(विपी) मा गएका थिए।