
अत्तरिया – बिहान सबेरै उठेर थ्री डि एण्ड इभि सेन्टरको कार्यालय आउने । केहि घण्टा कार्यालयको काम गरेर स्कुल जाने पढ्न होइन्, पढाउन । आफै पढ्ने उमेरका उनी पढाउन स्कुलमा आएका हुन् भनेर स्कुलमा धेरैले सुरु सुरुमा त विश्वास नै गर्दैनन् ।
देशमा अवसर छैन भन्दै पलायन हुने जेनजीहरुकोे सूचि दिनप्रतिदिन बढ्दै गइरहेका बेला सोहि उमेर समूहका शेखर राम साउँदले भने फरक परिचय बनाएका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय साउँदलाई बिहान ७ बजेदेखि बेलुकी ११ बजेसम्म भ्याइनभ्याइ हुन्छ । उनले एकातिर स्कुलहरुमा स्टिम सम्बन्धि अध्यापन गर्दै आइरहेका छन् भने अर्कोतिर सबै प्रकारका उपकरणका पाटपुर्जाहरु निर्माण गर्दै आइरहेका छन् ।
बिहान ७ बजेदेखि नै कार्यालय पुगेर केही घण्टा प्रोजेक्ट र प्रोडक्ट विकाससम्बन्धी काममा व्यस्त हुने उनी बिहान १० बजे स्कुल पुग्छन् । बेलुकी ५ बजे फेरी गोदावरी-२ स्थित अत्तरियामा रहेको थ्री डि एण्ड इभिको कार्यालयमा आएर ‘प्रोडक्ट डेभलप’ (उत्पादन विकास) लाई नै निरन्तरता दिन्छन् ।

उत्पादन विकास गरेर आफ्नै पहिचान बनाउने सपना देखेका साउँदलाई दुर्गालक्ष्मी नमूना माविका कम्प्युटर इन्जिनियरिङ शिक्षक किरण भट्टले पनि साथ दिँदै आएका छन् । साउँदले गर्ने स्व–अध्ययनले नै उनलाई सफल बनाएको कम्प्युटर इन्जिनियरिङ शिक्षक भट्ट बताउँछन् ।
भट्ट र साउँदसहितका व्यक्तिहरुले गोदावरी आविष्कार केन्द्र पनि सञ्चालन गर्दै आइरहेका छन् । आफ्नै उमेरका युवाहरु कलेज पढ्दै वा विदेश जाने तयारीमा व्यस्त भइरहेका बेला साउँद भने विद्यार्थीहरुलाई पढाउँदै, नयाँ सीप सिक्दै र प्रविधिमा आधारित उत्पादन विकास गर्ने योजनामा जुटिरहेका छन् ।
अत्तरियाकै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक पाँचौ सेमिस्टर अध्ययन गरिरहेका उनी ५ वटा विद्यालयमा स्टिम सम्बन्धी अध्यापन गर्दै आएका छन् ।
गोदावरी नगरपालिका १ मा रहेको होलिल्यान्ड सेकेन्डरी स्कुल, ६ मा रहेको साधनापथ एकेडेमी, ३ मा रहेको मोहना मन्टेश्वरी तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सनलाइट पब्लिक स्कुल र वेदान्त विद्या मन्दिरमा हप्ताको १ १ दिन अध्यापन गराउँदै आएको साउँदले बताए ।

“दिनमा स्कुलमा अध्यापन र बिहान र बेलुकीको समय कार्यालयको काम, नयाँ डिजाइन अनी आइडियामाथि काम गर्दै बित्छ । उनी भन्छन्, नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वासले नै मलाई काम गर्न ऊर्जा दिन्छ।”
विद्यार्थीहरूलाई सिर्जनात्मक प्रक्रियासँग परिचित गराउने भएकोले अबका बालबालिकालाई स्टिम एजुकेशन अति आवश्यक भइसकेको उनको भनाई छ । कुनै एउटा सामान उत्पादन र बिक्रि गरिसकेपछि मात्रै कक्षा १२ उत्तिर्ण हुन पाउने निति निर्माण गर्नुपर्ने उनको माग छ।
फरकफरक कक्षाका सयौँ विद्यार्थीहरुसंग संगत गर्ने साउँद उनीहरुसंग जिज्ञासा धेरै भएको तर लगशिलता र स्व–अध्ययन गर्ने स्वभाव भने न्यून भएको महसुस गर्छन् ।
भविष्यमा आफ्नै उत्पादन बजारमा ल्याउने सपना देखेका साउँद अहिले थ्री–डी प्रविधि र विभिन्न खालका उपकरणसँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहेका छन् । विभिन्न उपकरणहरुका पाटपुर्जा आवश्यकता र माग अनुसार उत्पादन गर्दै आइरहेको साउँदले बताए।

उत्पादन नै देश विकासको मुख्य कडी भएको भन्दै साउँद आफ्नै देशमा प्रविधिमा आधारित ‘प्रोडक्ट डेभलप’ गरेर युवालाई प्रेरणा दिन चाहेको बताउँछन् ।
“हामीले अवसर खोज्नुभन्दा अवसर सिर्जना गर्न सिक्नुपर्छ,” साउँदले भने,युवा पुस्ताले नयाँ आइडिया र प्रविधिलाई प्रयोग गरे देशमै धेरै सम्भावना छन् युवाको यो मर्म सरकारी संयन्त्रले पनि बुझ्नुपर्छ ।”
गोदावरी १ को घण्टेश्वर माविबाट एसएलसी उत्तिर्ण गरेका साउँदले अत्तरियाकै दुर्गालक्ष्मी नमूना माविबाट विज्ञान संकायमा कक्षा ११/१२ पास गरेका थिए ।
गत जेठमा सुदूरपश्चिममै पहिलोपटक थ्रि डि एण्ड इभि सेन्टर स्थापना गरेका उनी आर्थिक अभावमा आफ्नो कार्य बिस्तार गर्न नसकेको बताउछन् ।

थ्रि डि एण्ड इभिको बजार राम्रो भएकोले यसैक्षेत्रमा आफूले भविष्य खोजिरहेको उनले बताए । युवाहरुलाई प्रविधीमा आधारित कुराहरुमा जोड दिन आग्रह गर्ने साउँदले सरकारी संयन्त्रबाट उद्योग दर्तामा समेत असयोग भएको गुनासो गरे ।
“सरकारको काम यो नगर भन्ने मात्रै होइन्, तिमि यसो गर भन्ने पनि हो उनले भने, तर यहाँ त आफ्नै बलबुतामा गर्दामा समेत खुट्टा तान्ने काम हुँदो रहेछ ।”














