प्रहरी हवल्दार विर बहादुर विष्ट, जसले स्थानीयको सहयोगमा निर्माण गरे कार्यालयको पक्की भवन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेको अस्थायी ट्राफिक प्रहरी पोस्टको नवनिर्मित दुई कोठे पक्की भवनको सोमबार भव्य उद्घाटन गरियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पदम बहादुर विष्ट,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी प्रेम बहादुर शाही लगायत विभिन्न सुरक्षा निकायका प्रमुख,प्रतिनिधि लगायत प्रदेशको सिंगो सुरक्षा दलबल, जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

nisarga

दुई कोठे भवनको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले उद्घाटन गरेका थिए । २०७८ सालदेखि नै ट्राफिक प्रहरीले यहाँ अस्थायी प्रहरी पोस्ट स्थापना गरेको भएपनि यसअघि स्याउले अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी कर्मचारीहरु करिब वनले बाख्रा थुन्न निर्माण गरेको कटेरोमा बसेर सेवा प्रदान गर्दै आइरहेका थिए । स्याउले क्षेत्रका अगुवा व्यक्ति, स्थानीय व्यापारी, विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा बनेको अस्थायी ट्राफिक विटको भवनमा सरकारी लगानी भने शून्य छ । 

सुर्याेदय सामुदायिक वन उपभोक्ता समितिले प्रहरी बिटलाई जग्गा चलन भोगका लागि उपलब्ध गारएपछि अस्थायी प्रहरी बिटको पक्की भवन निर्माण गरिएको हो। अस्थायी ट्राफिक पोस्ट निर्माणका लागि पहल गरेका हुन् पोस्टका इन्चार्ज समेत रहेका प्रहरी हवलदार विरबहादुर विष्टले । उद्धघाटन कार्यक्रममा स्थानीयले उनको तारिफमात्रै गरेनन् स्थानीय समुदायलाई विश्वासमा लिएर कार्यालय भवन निर्माण गरेपछि उनको कार्यको कदर गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले नगदसहित विष्टलाई पुरस्कृत समेत गर्यो ।

ट्राफिक प्रहरीका प्रमखु प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले विष्टको कामको मूल्यांकन गर्दै रेकर्डमा अभिलेख रहनेगरि नगद राशिसहित उनलाई पुरस्कृत गरिएको बताए । सुर्योदय सामुदायिक वनकी अध्यक्ष जगत्रादेवी सिंहले स्याउलेमा बिटमा विष्टको समायावधी थप गर्नुपर्ने बताइन् । कसैसंग मागेर भवन निर्माण गर्नु सानो कुरा नभएको भन्दै उनले विष्टको सुशिल स्वाभावले यो सम्भव भएको बताइन् ।

त्यस्तै स्याउले बजार व्यवस्थापन समितका अध्यक्ष गोपाल देउवाले पनि विष्टले यहाँ राम्रो काम गरिहेको र स्थानीयसंग सुमधुर सम्बन्ध कायम गरेको बताए । वडा स्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष प्रेम बहादुर बोगटीले विष्टको सक्रियतामा जिर्ण भवनबाट प्रहरी पक्की भवनमा सर्न सफल भएको बताए । भवन उद्घाटन कार्यक्रममा डीआईजी ओमबहादुर रानाले विष्टलाई सम्मानसहित पुरस्कार दिएका थिए ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ बेलापुर घर भएका विष्ट नेपाल प्रहरीमा २० वर्षको सेवा अवधि पूरा गरिसकेका छन् । प्रहरी जवानबाट उनी सेवामा प्रवेश गरेका थिए । संगठनमा सर्वाेत्कृष्ट कार्य गरेवाफत उनी विभिन्न समयमा पुरस्कारसहित सम्मानित हुँदै आएको प्रहरी कर्मचारी भएको पाइएको छ ।

२२ साउन २०८० मा कैलालीको बुढीतोलामा सडक भासिएको घटनामा यात्रु र सवारीसाधन व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पुरस्कृत गरेको थियोे ।

यसअघि स्याङ्जास्थित वडा प्रहरी कार्यालय वालिङमा कार्यरत छदा पनि उनलाई संगठनले पुरस्कृत गरेको थियो भने तत्कालीन अञ्चल प्रहरी कार्यालय कर्णालीले समेत उत्कृष्ट कार्य गरेवाफत पुरस्कृत गरेको थियो ।

संगठनले उनलाई सबैपटक अभिलेखमा जनिनेगरि नै पुरस्कार दिएको थियो । नेपाल प्रहरीका धेरैजसो इकाईहरू कार्यालय भवन अभावका कारण खुला आकाश मुनि बसेर सेवा गर्न बाध्य भएका छन् ।

भवन भएका ठाउँमा समेत जीर्ण अवस्थाका कारण जोखिममा काम गर्नुपर्ने बाध्यता छ । यस्तो बेला समुदायस्तरबाट सहयोग संकलन गरेर अस्थायी ट्राफिक प्रहरी पोस्ट स्याउलेले उदाहरणीय काम गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीको भनाई छ ।

सुर्योदय सामुदायिक ले उपलब्ध गराएको जमिनमा स्थानीयको जिन्सी तथा नगद गरी करिब ८ लाख ८१ हजारमा उक्त भवन निर्माण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शाहीले बताएका छन् । भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।