इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष

Image
maya metro

सुर्खेत – सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान टुंग्याएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जनाएको छ ।

गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा विद्यालय जाने भन्दै घरबाट निस्किएकी थिइन् । सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

nisarga

घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक बयानमा ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्राव भएर उनी अचेत भएको बताएका छन् ।

पोस्टमार्टम प्रतिवेदनले पनि यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकिएको जानकारी दिए ।

प्रहरीले बुझाएको रिपोर्टमा इनिशाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष निकालिएको छ ।