
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर-४ मालुवेलामा अवस्थित ग्वासी समैजी धाममा सञ्चालन गरिएको शिवपुराण एवं महारुद्र विराट महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
धाममा गत चैत ६ गते देखि १६ गतेसम्म सञ्चालन भएको विराट महायज्ञ सञ्चालन शिवपुराण एवं महारुद्र विराट महायज्ञको सञ्चालन समितले शनीबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै आयव्यय सार्वजनिक गरेको हो ।

आयव्यय प्रस्तुत गर्दै महायज्ञको आर्थिक समितिका संयोजक खेमराज पाण्डेयले महायज्ञमा नगद सहयोग, कलश, गहुँधान,आरती लगायतबाट १ करोड ४० लाख ९२ हजार ३१ रुपैँया कुल आम्दानी भएको बताए ।
उनकाअनुसार महायज्ञमा ४४ लाख ५ हजार ३३८ रुपैँया खर्च भएको छ । यसरी महायज्ञबाट ९६ लाख ८६ हजार ६९३ रुपैँया बचत भएको छ । महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई समितिले धन्यावाद व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख एवम् महायज्ञका संयोजक हेमराज ओझाले धाममा गुरुकुल सञ्चालन गर्ने र हिमालय पर्वतसहितको ५४ फिटको शिवपार्वतीको मुर्ति स्थापना गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको बताए ।
उनले यि दुवै कार्य छिटै सुरु गरिने उनले बताए । त्यस्तै कृष्णपुर ४ का वडा अध्यक्ष एवम् महायज्ञका सह संयोजक धर्म सिंहले निस्वार्थ भावनाले महायज्ञ अवधीभर स्थानीय तथा श्रद्धालुहरुले गरेको सहयोगको प्रशंशा गरे । उनले उदेश्यबमोजिम कार्य अगाडि बढाउन आफूहरु प्रतिवद्ध रहेको बताए ।
त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष एवम् मुल आयोजक समितिका सचिवालय सदस्य टेक पाण्डेयले ग्वासी समैजी धाम धार्मीक तथा पर्यटकिय दृष्किोणले महत्वपूर्ण स्थान भएको भन्दै कृष्णपुर नगरपालिका र कृष्णपुरबासीले सुरु गरेको यो शुभकार्यमा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
सुदूरपश्चिमका पहाडी जिललाबाट कैलाली, कञ्चनपुर बसाइ सरेर आएकाहरुले ग्वासी समैजी देवतालाई पूजाआजा गर्दै आइरहेका छन् ।















