
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ र ७ को सिमाना लालपुरस्थित ग्वासी समैजी चण्डेश्वरी शिव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
आजदेखि सुरु भएको महायज्ञको एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका छन् । उद्धघाटनअघि कलशयात्रा निकालिएको थियो ।

कथा वाचक आर्चाय हरिशरण उपाध्यायको समूहले प्रवचन गरिरहेको महायज्ञमा मूल पाठ पारायण, यज्ञ, होम तथा पूजाहरु पनि हुने जनाइएको छ ।
वैशाख १४ गतेसम्म सञ्चालन हुने महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने मन्दिरले जनाएको छ ।
















